Logo

देउवाले डाकेको बैठकबाट सत्ता समिकरण बन्ला ?



काठमाडौं, २७ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा डाकेको तीन दलको बैठकमा सबैको चासो छ । काँग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणका लागि देउवाले महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्न बैठक डाकेका हुन् ।

अपरान्ह ३ बजेका लागि डाकिएको बैठकमा सत्ता समिकरणकै विषयमा कुराकानी केन्द्रित हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकमा तीनवटै दलका शिर्ष नेताहरु सहभागी हुने बुझिएको छ ।

आजको बैठकमा देउवाले सत्ता समिकरणका लागि न्यूनतम सहमतिको बिन्दुबारे प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । उनले काँग्रेसको नेतृत्वमा सरकार निर्माणबारे प्रस्ताव प्रस्तुत गर्ने बुझिएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिले यसअघि नै आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय लिइसकेको छ । त्यसपछि पहिलोपटक तीन दलबीच बैठक बस्न लागेको हो ।
काँग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार निर्माण गर्नुपर्ने आवाज बढ्दै गएको छ । देउवानिकटस्थहरुले पनि काँग्रेस नेतृत्वमा सरकार निर्माणका लागि सत्ता समिकरण गर्नुपर्नेमा जोड दिदै आएका छन् । यद्यपि, जनता समाजवादी पार्टीले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिइरहेको छ ।

काँग्रेसले नेतृत्व दाबी गरिरहँदा जसपाले पनि दाबी गर्दै आएको छ । दुई दलबीच सरकारको नेतृत्व दाबीले समिकरण बनिहाल्न कठिन छ । दुई दलमध्ये एउटा दल ब्याक भएमा सत्ता समिकरण बन्न सक्छ ।

काँग्रेसको ६३ मध्ये एकजना सांसद निलम्बित छन् । जसपाको दुई जना निलम्बित भएकाले ३२ सिट छ । माओवादी केन्द्रबाट चुनाव जितेका ४ जना सांसद पदबाट मुक्त भएकाले ४९ सिट छ । चार दल नै एक भएको अवस्थामा प्रतिनिधि सभामा स्पष्ट बहुमत हुन्छ । प्रतिनिधि सभाको २७५ सिटमा १४२ सिट स्पष्ट बहुमत हो ।



प्रतिक्रिया दिनुहोस्