Logo

प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेमा जसपाभित्र दुई धार, कसले मार्ला बाजी ?



काठमाडौं, २७ चैत्र । सत्ता समिकरणमा निर्णायक शक्ति बनेको जनता समाजवादी पार्टी, नेपालमा दुई धार देखिएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले दुई धारको नेतृत्व गरेका छन् । ठाकुर वर्तमान सरकारसँग सहकार्य गर्नुपर्नेमा उभिएका छन् भने यादव कुनैपनि हालतमा वर्तमान सरकारलाई विस्थापित गरेर कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा छन् ।

जसपामा यतिवेला बहुमत सांसदहरु ठाकुरको पक्षमा उभिएको आँकलन गरिएको छ । पछिल्लो समय ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् । आफूहरुको माग ओलीले नै सम्बोधन गर्ने ठाकुरको विश्वास छ ।

आफूनिकट नेताहरुसँग पनि ठाकुरले ‘अरुले होईन, ओलीले नै हाम्रो माग सम्बोधन गर्छन्, कांग्रेस र माओवादीसँग भन्दापनि ओलीसँग नै सहकार्य गर्नुपर्छ’ भन्न थालेका छन् । हालै प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुको माग र मुद्दा जसले सम्बोधन गर्छ उसैसँग सहकार्य हुने विश्वास दिलाएका थिए । कतिसम्म भने ठाकुरले पछिल्लो समय सरकारसँग भएका वार्ता तथा छलफल सकारात्मक रहेको पनि दाबी गरेका थिए ।

जसपाभित्र अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने कुनैपनि हालतमा ओलीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् । कतिपयले जसपाको आन्तरिक विवाद चुलिँदै गएको र कालान्तरमा यो पार्टी नै विभाजित हुनेपनि आँकलन गरेका छन् । तर, शीर्ष नेताहरु भने पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गर्दै आएका छन् । हिजोमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शीर्ष नेता वृषेशचन्द्र लालले जसपाले अहिले सरकार बनाउने वा गिराउने काम नगर्ने स्पष्ट पारेका थिए । उनले आफ्नो पार्टीले वर्तमान सरकारलाइृ समर्थन गर्ने वा यो सरकार ढालेर नयाँ बनाउने भन्नेबारे कुनै निर्णय नगरेको बरु तटस्थ रहेको जनाएका थिए ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा (माओवादी केन्द्र) पुगेको छ । आज/भोलि भित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी नेताहरुले स्पष्ट पारेका छन् । आजै दिउँसो ३ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक छलफल गर्नका लागि माओवादी केन्द्र र जसपाका नेताहरुलाइृ बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्