नयाँ वर्ष भन्नासाथ आम मानिसमा खुसी र उमङ्ग सञ्चार हुन थाल्छ। उत्सवका रूपमा मनाइने भएकाले नेपाली लोक जीवनमा नयाँ वर्षको विशेष स्थान छ। विश्वमा कहिलेदेखि नयाँ वर्ष मनाउन थालियो भन्ने कुनै स्पष्ट प्रमाण छैन तैपनि पृथ्वीमा जहिलेदेखि समयको गणना वर्षमानमा गन्ने चलनको विकास भयो, त्यहीँबाट नयाँ वर्ष मनाउने चलन चलेको हो।
विक्रम संवत् – वैशाख १
रुख-बिरुवा एवं लहरामा देखिने नयाँ पालुवा एवं फूलहरूको सुगन्धयुक्त सिरसिर हावा अनि कोइलीको कुहुकुहु र अन्य चराहरूको चिर्बिरले सजिएको वसन्त ऋतुको मनोरम दिनहरूसँगै नवीन उमङ्ग, उल्लास र आशा लिएर विक्रम संवत्को नयाँ वर्षारम्भ हुन्छ।
विक्रम संवत् सूर्य सिद्धान्तमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो। यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। यो अङ्ग्रेजी पात्रोभन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ।
नयाँ वर्षको ईस्वी संवत् अनुसार अप्रिल महिनाको १३ वा १४ तारेखमा पर्छ। विक्रम संवत्को प्रचलन आधिकारिक रुपमा नेपालमा चन्द्रशमशेरको पालादेखि सुरू भएको इतिहासकारहरुले उल्लेख गरेका छन्।
विक्रम संवत् १९६१ सालदेखिको मेष संक्रान्तिलाई वैशाख १ गते मानी त्यसैको आधारमा महिनाका दिनहरू निर्धारण गरिएका हुन्। मीन राशि समाप्त भई मेष राशि प्रारम्भ हुनासाथ वैशाख महिना सुरू हुन्छ। विक्रम संवत् कहिलेदेखि, किन र कसले चलायो भन्ने विषयमा विद्वान्हरूबीच मतैक्य छैन। विक्रमको अर्थ पराक्रम भएको हुँदा यो उज्जैनका विक्रमादित्यले चलाएका हुन् कि गुप्त शासकहरूमध्ये कसैले चलाएका हुन्, टुङ्गो छैन।
नयाँ वर्षको दिन शुभकामना आदान–प्रदान र नयाँ संकल्प गर्नेदेखि पारिवारिक र साथीभाइको जमघट गर्ने, घुमफिर गर्ने, पिकनिक जाने, मीठा परिकार खाने र खुसीयाली साटासाट गर्ने नेपाली संस्कृति रहिआएको छ।
नयाँ वर्षका दिन उपत्यकामा विभिन्न जात्रा एवं पर्व मनाइन्छ। बालाजु बाइसधारामा स्नान गरी नागार्जुनको डाँडास्थित जामाचो बौद्ध स्तूपाको दर्शन, विष्णुमती नदीको मुहान सपनतीर्थमा स्नान गरिन्छ। त्यस्तै भक्तपुरको बिस्केट जात्रा तथा ठिमीको जिब्रो छेड्ने जात्रा आदि पनि नयाँ वर्ष फेरिने परम्परासँगै सम्बन्धित छन्।
इस्वी संवत्को नयाँ वर्ष– पुसको मध्य
ग्रगोरीले सन् इस्वी संवत्लाई प्रचलनमा ल्याएका हुन्। त्यसअघि शासक जुलियस सिजरले प्रचलनमा ल्याएकाले पात्रो प्रचलनमा थियो। इसाई धर्मका प्रवर्तक जिसस क्राइष्टलाई फाँसी दिएपछि यशुको नामबाट इस्वी सन् पनि भनिएको रछ। संसारमा अधिकांश मुलुकमा यही संवत् प्रचलनमा रहेकाले जनवरी १ लाई विश्वभर नै नयाँ वर्षका रुपमा मनाउने गरिन्छ। नेपालमा पनि इस्वी संवत्को नयाँ वर्ष अर्थात् जनवरी १ तारिखमा पनि नयाँ वर्ष मनाउने प्रचलन बढेको छ।
नेपाल संवत् – कात्तिक
विशेष गरी नेवारी समुदायले मान्ने नेपाल संवतलाई नेपालको मौलिक संवत् मानिएको छ। यसका प्रवर्तक शंखधर साख्वा हुन्। शंखधरले नेपालका सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवतको शुरुआत भएको इतिहास छ।
नेपाली समुदायको ठूलो पर्व तिहारको बेलामा नेपाल संवत्को नयाँ वर्ष पर्छ। गाईतिहार औंसीको भोलिपल्ट नेवार समुदायले नयाँ वर्ष मनाउँछन्। विक्रम संवत् ११३३ मा भक्तपुरका राजा राघवदेवको आज्ञामा नेपालको कार्यालयहरुमा यो संवत् चलाइएको थियो।
माघे संक्रान्ति
मगर, थारु, राई, लिम्बु, तामाङ, शेर्पा, गुरुङ, थकाली लगायतका आदिवासी जनजाति समुदायले माघे संक्रान्तिलाई नयाँ वर्षका रुपमा मनाउँछन्। माघे संक्रान्ति मगर समुदायको नयाँ वर्ष हो। माघबाट नै मगर समुदायमा गाउँको अगुवा चुन्ने चलन छ। साथै वर्षभरीको लत्ताकपडा, अन्नपात, नुन-तेलको व्यवस्थाका साथै लेनदेनको हिसाबकिताब गरिन्छ।
थारु समुदायको माघी
थारु समुदायमा पुस मसान्तमा आ-आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरू गर्ने प्रचलन छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको रूपमा मनाउँछ। माघीमा भाइभाइ एक ठाउँमा बसेर खानपिन गर्दै कसलाई के जिम्मेवारी दिने, घरमूली को बन्नेजस्ता कुराको छलफल हुन्छ।
यो पर्व थारु समुदायको अगुवा चुन्ने दिन पनि हो। वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल-ख्याला’ भनिन्छ। अगुवालाई ठाउँविशेष अनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा भनिन्छ। सोही बैठकले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिसम्मको छनोट गर्छ।
किरात येले संवत्
किराँती समाजमा माघ १ गते किरात येले संवत् नयाँ वर्षका रुपमा मनाइन्छ। किराँती समुदाय प्रत्येक १ माघदेखि येले संवत् फेरिने विश्वासका साथ शुभकामना आदानप्रदान गर्छन्। किराँत समुदायले वनतरुलको टीका लगाएर नयाँ वर्ष मनाउने गर्छन्।
किराँत धर्मअन्तर्गत सत्यहाङमा पन्थ मान्नेहरुले किरात येले संवत् ५०७८ मनाउँदै आएका छन्। उनीहरुले चैत १ गतेलाई नयाँ वर्ष मनाउने गर्दछन्। बहुभाषिक किराँत समाजमा यो संवत्लाई येले तङ्बे, येले दोङ, येले थोचे भनेर बुझ्दछन्। वल्लो किरात, माझकिरात र पल्लो किरातमा यो संवत् प्रचलनमा छ। यो प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा प्रचलनमा ल्याएको संवत् हो।
तमु ल्होसार
गुरुङ, तामाङ, हिमाली आदिवासी शेर्पा, छन्त्याल लगायत समुदायले ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन्। तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष तथा मुख्य चाड हो। यो पुस महिनाको १५ गते पर्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशिष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
सोनाम ल्होछार
सोनाम ल्होछार तामाङ समुदायले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो। प्रत्येक वर्ष माघशुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछार र चिनियाँको दिन दिन मनाइन्छ। ल्होसार मनाउने समुदायले १२ वर्षको नाम पशुपन्छी र जीवजन्तुका नामबाट राखेका हुन्छन्। मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेँडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष। यी १२ वर्गलाई यो समुदायले १२ राशीको रूपमा पनि लिने गरेको पाइन्छ।
ग्याल्पो ल्होसार
ग्याल्पो ल्होसार शेर्पा लगायत हिमाली आदिवासी समुदायले नयाँ वर्षको रुपमा मनाउँछन्। शेर्पा समुदायमा लोसार वा नयाँ साल आउनु भन्दा दुई-तीन दिन अगाडि घर, आगन सफा गर्ने र ग्रह शान्तिको प्रतीक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याँक्ने परम्परागत प्रचलन छ।
हिजरी संवत्
मुस्लिम समुदायले हिजरी संवत्को पहिलो दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन्। यसलाई इस्लामिक संवत् पनि भनिन्छ। इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद मुस्तफा साउदी अरबको मक्कामा जन्मेर अल्लाहको दूत ‘नबी’ का रूपमा इस्लामका बारेमा प्रचारप्रसार गर्दै गर्दा त्यतिबेलाका शासकहरूले उनीमाथि अत्याचार गर्न थालेपछि अल्लाहको आदेशानुसार मक्का सहर छोडेर मदिना गएको दिनदेखि नै इस्लामिक संवत् मनाउने परम्परा चलेको हो। यो संवत् असोज महिनाको मध्यतिर पर्छ।
बुद्ध पूर्णिमा
गौतम बुद्धको जन्मजयन्तीको दिनदेखि नै बुद्ध संवत् नयाँ वर्ष सुरु हुन्छ। वैशाख पूर्णिमाका दिन बुद्ध संवत् बुद्धको विशेष पूजापाठ तथा अर्चना गरी मनाइन्छ।