काठमाडौं, बैशाख ३ । नेपाल–भारत विद्युत् व्यापार सहज र प्रतिस्पर्धी मूल्यमा गराउने र बङ्गलादेशसम्म पनि नेपालको बिजुली निर्यातको सम्भावना खोल्ने गरी नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जको सदस्यता पाएको छ ।
भारतको ऊर्जा मन्त्रालयले प्राधिकरणलाई ऊर्जा एक्सचेन्ज मार्केटको सदस्यता प्रदान गरिएको र अब त्यहाँबाट विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएको छ ।प्राधिकरण भारतीय पावर एक्सचेन्ज मार्केटको सदस्य बनेकाले कसैको हस्तक्षेपबिना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गर्न सकिने भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए।
“दुई मुलुकबीचको विद्युत् व्यापारका लागि यसको ऐतिहासिक महìव छ,” शाक्यले भने। “ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच पाएकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि अर्को स्टेपसमेत खुला भएको छ । ”प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ ।
प्राधिकरणले पहिलो चरणमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् बर्खाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव गरेको कार्यकारी निर्देशक शाक्यले बताए ।प्राधिकरणले भारतीय ऊर्जा बजारमा विद्युत् खरिद र बिक्रीका लागि प्रस्ताव गरेको थियो तर खरिदको स्वीकृति पाए पनि बिक्रीका लागि माग भएको थप आवश्यक कागजात पठाएको शाक्यले जानकारी दिए।
सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन उल्लेख्य घटेको छ । यही अवस्थामा भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएकाले प्राधिकरणले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको छ । गोरखापत्र दैनिकबाट