Logo

यो साता विकास बैंकका शेयरधनीले कमाए आकर्षक प्रतिफल



काठमाडौं, बैशाख ४ । गत साता बजार बढेसँगै विकास बैंकहरुको शेयर मूल्य आकर्षक रुपमा वृद्धि भएको छ । हाल नेप्सेमा १६ ओटा विकास बैंकहरुको शेयर कारोबार हुन्छ ।

गत साताको कारोबारमा ती १६ ओटै बैंकहरुको शेयरमूल्य बढेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयरमूल्य ७८ रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य २०७७ चैत २४ गते प्रतिकित्ता १९० रहेकोमा वैशाख २ गते वृद्धि भएर २६८ पुगेको हो ।

दोस्रोमा एक्सेल डेभलपमेण्ट बैंकको शेयरमूल्य ७७ रुपैयाँले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य चैत २४ गते प्रतिकित्ता ४९२ रहेकोमा वैशाख २ गते वृद्धि भएर रू। ५६९ पुगेको हो । यस बैंकले १२ प्रतिशत बोनस शेयर वितरण गर्ने र उक्त बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । सोही कारण यस बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो ।

केहि समय अगाडि निर्जीवन बीमा कम्पनी, फाइनान्स कम्पनी र जलविद्युत् समूहका कम्पनीहरुको शेयरमूल्य बढेको थियो भने गत हप्ता विकास बैंकहरुको शेयर मूल्यमा लगानीकर्ताको आर्कषण परेको हो । बजार बढेसँगै लगानीकर्ताले कम शेयरमूल्य भएका कम्पनीहरुको शेयर खरीद गरेको पाइन्छ ।

यस्तो अवस्थामा कम शेयरमूल्य भएको कम्पनीको शेयर ठूलो मात्रामा शेयर खरीद गरेर निश्चित प्रतिफल पाएपछि बेच्ने गरेको एक लगानीकर्ताले बताए । कतिपय लगानीकर्ता आफूले शेयर खरीद गर्नुअघि कम्पनीको आधारभूत पक्ष राम्रोसँग केलाएर दीर्घकालिन रुपमा लगानी गर्ने गर्दछन् ।

गत हप्ता दुई दिन सार्वजनिक विदा परेकाले तीन दिन मात्र शेयर कारोबार भएको हो । सोही कारण चैत २४ गतेको शेयरमूल्यसँग तुलना गरिएको छ । आर्थिक अभियान दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्