Logo

रहेनन् महाकवि देवकोटाका ‘गणेश’, एउटा भाषणमा वैष्णवले भनेका थिए-‘देवकोटाले कलम बाजी राख्दा म रोएँ’



काठमाडौं, ४ बैशाख ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘गणेश’ का रुपमा चिनिने नेपाली भाषासाहित्यका साधक श्यामदास वैष्णवको ९७ वर्षको उमेरमा वैशाख ३ साँझ ७ बजे आफ्नै निवास ज्ञानेश्वरमा देहावसान भयो। नेपाली साहित्यमा देवकोटा व्यास र वैष्णव गणेश भएर धेरै किताब लेखिएका छन्। देवकोटा मुखले कविता भन्दै जान्थे, वैष्णव लेख्दै। यति मात्र होइन, देवकोटाका कृति प्रेसमा लानुअघि वैष्णवले नै साफी गर्थे। त्यसपछि देवकोटाको फेरि अर्को कृति तयार हुन्थ्यो।

१९८१ साल साउन ५ गते काठमाडौँमा जन्मेका वैष्णव महाकवि देवकोटाका प्रिय चेला थिए। नेपाली भाषानुवाद परिषद्मा जागिर पाएपछि देवकोटाले वैष्णवलाई आफ्नो कारिन्दा बनाएर त्यहीँ लगेका थिए। त्यहाँ उनले वैष्णवलाई पण्डितको दर्जा दिलाए। त्यस बेला देवकोटा मासिक ७० रुपियाँ तलब खान्थे र वैष्णव १५ रुपियाँ।

वैष्णवका रातको आँसु- गीति कविता, पतकर-कविता सङ्ग्रह, अन्तरध्वनि-कविता सङ्ग्रह, उपहार-कविता सङ्ग्रह, केही लघु नाटक, केही गीति नाटक र नयाँ लहर गरी सात वटा कृति प्रकाशित छन्। वैष्णवले हाम्रो संस्कृति, माधुर्य, झङ्कारको सम्पादन पनि गरेका थिए। शारदा पत्रिकामा उनको ‘सूर्य’ शीर्षकको पहिलो रचना प्रकाशित भएको थियो ।

नरेन्द्रराज प्रसाईका अनुसार देवकोटासँग पं. वैष्णवको १९९८ सालदेखि नै सम्बन्ध गाँसिएको थियो। ‘तपाईंका अक्षर मलाई मन परे। मेरा लेखरचना सारिदिने मान्छे मलाई चाहिएको थियो।’ वैष्णवका अक्षर देखेपछि देवकोटाले प्रस्ताव राखेका थिए। ‘म सारिहाल्छु नि ! मलाई पनि कविता लेख्ने रहर छ। तपाईंसँगको संगतले मैले पनि केही कुरा जान्न पाउँछु,’ वैष्णवले पनि रमाएर देवकोटालाई प्रत्युत्तर दिएका थिए ।

देवकोटाले नेपाली भाषानुवाद परिषद्‌मा जागिर पाएपछि उनले पं. वैष्णवलाई आफ्नो कारिन्दा बनाएर त्यहीँ लगे। त्यहाँ उनले वैष्णवलाई पण्डितको दर्जा दिलाए। त्यसबेला देवकोटा मासिक ७० रुपैयाँ तलब खान्थे र वैष्णव १५ रुपैयाँ खान्थे। त्यस समयमा देवकोटा र वैष्णव सँगै कार्यालय जान्थे र घर पनि सँगसँगै फर्कन्थे।

देवकोटाले तलब थाप्ने दिन वैष्णव थैलो बोकेर पनि सँगसँगै जान्थे । त्यतिबेला कागजको नोटको चलन थिएन । सिक्काको मात्रै चलन थियो । देवकोटाले तलब थाप्ता वैष्णवले प्रायः त्यो पैसा बोकेर देवकोटाको घरसम्म ल्याइदिन्थे। त्यतिबेलाको ७० रुपैयाँको धातुमुद्राको तौल झन्डै ७० तोलाबराबरको हुन्थ्यो। पैसाको मामलामा देवकोटा अरूलाई प्रायः विश्वास गर्दैन थिए र तलब थाप्ने दिन उनी वैष्णवलाई नै गुहार्न पुग्थे।

तलब पाएका दिन देवकोटा बजारमा फलफूल र मिठाईको भाउ सोध्दै किन्दै हिँड्थे। उनका पछिपछि वैष्णव पनि देवकोटाको वकालत गर्दै हिँड्थे। देवकोटाले बोलेपछि वैष्णवका लागि लालमोहरको छाप लागेसरह हुन्थ्यो। कसैले देवकोटाको कुरा काट्नु भनेको वैष्णवका लागि महापाप सुन्नुसरह हुन्थ्यो।

‘तपाईंको लेखनी पुरानो ढर्राको छ,’ एक दिन गोपालप्रसाद रिमालले देवकोटाका बारे आलोचनात्मक टिप्पणी गरेका थिए। त्यसबेला श्यामदास वैष्णव उनीहरूका नजिकै थिए। ‘तपाईंको हिम्मत छ भने देवकोटाभन्दा राम्रो लेखेर देखाउनुहोस् न!’- त्यतिबेला देवकोटाको आलोचना खप्न नसकेर वैष्णवले रिमाललाई भनेका थिए ।

वैष्णवको आक्रोश फुस्के पनि देवकोटा भने मन्द मुस्कानका साथ मौन नै रहे । ‘श्यामले मलाई हाँक दिए म पनि लेख्छु,’ रिमालले चाहिँ जवाफ फर्काएका थिए । अनि त्यसपछि नै रिमालले ‘मसान’ लेखे ।

एकपटक तिहारको बेला देवकोटाले साथीहरूसँग पासा खेले। पासामा उनले हारे र कलम बन्धक राखेर पुनः खेले। पं. वैष्णवलाई त्यस बेहोराले निक्कै पोलेको थियो र त्यसपछिको एउटा कार्यक्रममा भाषण गर्दा वैष्णवले भने- ‘देवकोटाले कलम बाजी राख्ता म रोएँ ।’ त्यसपछि, ‘पण्डित वैष्णवले आज मेरो किन बदनामी गरे !’ उक्त समारोहकै प्रमुख अतिथि देवकोटाले पनि आफ्नो मन्तव्यका क्रममा मन खोलेका थिए।

देवकोटाले वैष्णवलाई सधैँ माया गरे। देवकोटाले आफू बिरामी भएका बेला पनि वैष्णवको ‘उपहार’ नामक कवितासंग्रहको अंग्रेजी भाषामा अनुवाद गरिदिए। त्यसबेला वैष्णव नेपालीमा आफ्ना कविता सुनाउँदै जान्थे, देवकोटा तुरुन्तातुरुन्तै अंग्रेजीमा रूपान्तर गर्दै जान्थे । देवकोटाले त्यस कृतिको नाउँ ‘The Present’ राखे।

मदन पुरस्कारप्रति वैष्णवको वितृष्णा थियो । उनले भनेका थिए- ‘मलाई मदन पुरस्कारको आशा पनि थिएन । मदन पुरस्कारले स्रष्टालाई डिप्रेशनमा पुर्याउने काम मात्र गरेको छ । मदन पुरस्कारले कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको पनि अवमूल्यन गरेको थियो । त्यति मात्र कहाँ हो र योगीनरहरिनाथ, सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, युद्धप्रसाद मिश्र, भूपी शेरचन, केशवराज पिंडाली, लैनसिंह वाङ्देल, भिक्षु,अमृतानन्द, विजय मल्लआदि जस्ता कैयौं विशिष्ट स्रष्टालाई पनि मदन पुरस्कार दिइएन । अहिलेसम्म मदन पुरस्कार ७० जनालाई दिए क्यारे तर ९/१० जना राम्रा लेखकदेखि बाहेक अरुले यो पुरस्कार पाएका छैनन् ।’

 



प्रतिक्रिया दिनुहोस्