काठमाडौं, ५ वैशाख । नेकपा एमालेको ६ वैशाखमा डाकिएको आयोजक कमिटी बैठकमा चासो बढेको छ । कर्णाली प्रदेशमा फलोर क्रस भएपछि पहिलोपटक बस्न लागेको एमाले बैठकले फेरि कठोर निर्णयहरु लिने सम्भावना रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ । यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी भएको छ ।
थप कारबाहीलाई दृष्टिगत गरी नेता भीम रावलले हिजो पार्टी फुट्न सक्ने भएकाले तयार रहन भनेका छन् । उनले गृहक्षेत्र सुदुरपश्चिम पुगेर समर्थकलाई सम्भावित परिस्थिति कठोर हुनसक्ने भन्दै तयार रहन भनेका हुन् । कर्णाली प्रदेशमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा फ्लोर क्रस भएको खुलिसकेको छ । अब उनीसहित निकटस्थहरुमाथि थप कारबाहीको निर्णय गर्न लागिएको बुझिएको छ ।
एमालेभित्र माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको छ । अध्यक्ष ओली विरोधीहरुलाई एकपछि अर्को गर्दै निरन्तर कारबाही गरिरहेका छन् । दुई पक्षबीच टकराव बढिरहेको छ । यसको असर केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहमा देखिइसकेको छ ।
अब नेकपा एमालेको फुट जोगाउन मध्यमार्गी नेताहरु सक्रिय भएका छन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी विधान विपरित आयोजक कमिटी बनाएको भन्दै ६ गतेका लागि बोलाइएको उक्त कमिटीको बैठक तत्काल रोक्न आग्रह गरेका छन् । उनले उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने प्रेस विज्ञप्तीमार्फत् भनेका छन् ।
बोहराको विज्ञप्ति आयोजक कमिटीको बैठकको पूर्व सन्ध्यामा आएको हो । बैठकबाट ओलीले कठोर निर्णय लिन सक्ने बुझेर बोहराले रोक्न आग्रह गरेका हुन् । उनले २८ फागुन २०७७ को ओलीले गरेको निर्णय समेत फिर्ता गर्न भनेका छन् ।
आयोजक कमिटी रोकेर एमाले विभाजन रोक्ने अन्तिम प्रयास बोहराले गरेका छन् । उनीबाहेकका मध्यमार्गी र दोस्रो पुस्ताका नेताहरु पनि बैठक रोकेर सहमति निकाल्ने प्रयासमा छन् ।