Logo

अविश्वासको प्रस्ताव र सम्भावित ‘फ्लोर क्रस’ रोक्न कारबाहीको डन्डा चलाउँदै ओली



काठमाडौं, ६ वैशाख । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र कारबाहीको डन्डा चलाएर आफूविरुद्ध आउनसक्ने अविश्वासको प्रस्तावलाई निस्तेज पार्ने तयारी गरेका छन् । ओलीले कारबाहीस्वरुप निलम्बनको निर्णय बढाउन महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन् ।

कर्णाली प्रदेश सभामा मतदानका क्रममा फ्लोर क्रस गरी उत्साही भएका माधव कुमार नेपाल पक्षधरलाई कमजोर पार्न ओलीले कठोर निर्णय लिन लागेको बुझिएको छ । कम्तिमा सांसद पदबाट निलम्बन गरेमा मतदानबाट वञ्चित हुने र फ्लोर क्रसको सम्भावना नरहने भएपछि अविश्वासको प्रस्ताव आउन नसक्ने ओली पक्षको बुझाई छ । माधव नेपाल पक्षधर ३० भन्दा बढी सांसद रहेको र उनीहरुले फ्लोर क्रस गर्ने सम्भावनाबीच काँग्रेस र माओवादी मिलेर अविश्वासको प्रस्ताव ल्याउँदा बहुमतका लागि सिट संख्या पर्याप्त हुन्छ ।

तर, फ्लोर क्रसको सम्भावनालाई ध्यानमा राखी अविश्वासको प्रस्ताव आइसकेपछि पनि ओलीले सांसद पदबाटै हटाउने वा निलम्बन गर्ने गरी कारबाहीको डन्डा चलाउन सक्छन् । त्यस्तो अवस्थामा जनता समाजवादी पार्टीको साथ विना अविश्वासको प्रस्ताव सफल हुन सक्दैन । अविश्वासको प्रस्तावको पक्ष या विपक्ष दुवैमा बहुमत नपुगेमा ओलीलाई अर्ली इलेक्शनमा जाने बाटो खुल्छ । प्रस्तावको विपक्षमा बहुमत पुगे ओली अर्को एक वर्ष ढुक्कले प्रधानमन्त्री हुन्छन् ।

यसैगरी, प्रचण्ड र माधवकुमार नेपालले फेरि प्रधानमन्त्रीको प्रस्ताव राख्दा पनि देउवा हच्किएका छन् । उनले जसपाको साथ खोजेका छन् । जसपाको ३२ जना सांसदको हस्ताक्षर आएमा मात्र अगाडि बढ्ने जवाफ दिएको बुझिएको छ । यसले ओलीलाई फाइदा पुगेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्