Logo

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव, माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्रीमा प्रस्ताव



काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

लुम्बिनीमा अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । लुम्बिनीमा काँग्रेस र माओवादी केन्द्रको मात्र बहुमत छैन । अविश्वासको प्रस्ताव पारित हुन यी दुई दलबाहेक जनता समाजवादी पार्टीले समेत मत दिनुपर्नेछ । नेकपा एमालेबाट फ्लोर क्रस भएमा पनि प्रस्ताव पारित हुनसक्छ ।

लुम्बिनीमा ८५ जना सांसद रहेको अवस्था छ । अविश्वासको प्रस्ताव पारित गर्न ४३ जना सांसद पुग्नुपर्छ । काँग्रेसको १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्य छन् । काँग्रेस, माओवादी केन्द्र र जसपाका सबै सांसदले मतदान गरे प्रस्ताव पारित हुनेछ ।

यसअघि कर्णाली प्रदेशमा माओवादी केन्द्रलाई काँग्रेसले साथ दिएको थियो । गण्डकी प्रदेशमा काँग्रेसलाई माओवादी केन्द्रले साथ दिने सहमति भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्