काठमाडौं, ६ बैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी, कल्पना पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन ।
आज सपथ खाने चारै जना मन्त्रीहरु जसपाका सांसद हुन । यसअघि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, रोचक त के छ भने यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका तीन सांसद अहिले मन्त्री बनेका छन् ।
अविश्वासको प्रस्तावमा हस्ताक्ष गर्ने जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे र सुमन रायमाझी हुन् । तर, कल्पना पाण्डेले भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी थिईनन् । अविश्वासको प्रस्ताव ल्याउनेबित्तिकै माओवादी केन्द्रका कुलबहादुर केसी र सुदर्शन बरालले मन्त्रीबाट राजीनामा दिएका थिए । File Photo/RN