Logo

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट



काठमाडौं, बैशाख ७ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ ।

यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल०ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले जनाएको छ । केयूकेएलका प्रमुुख कार्यकारी अधिकृत मिलन शाक्यले ३२० स्थानमध्ये दुई सय स्थानमा मर्मत भइसकेको जानकारी दिए ।

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको छ । मर्मत गरिरहेका छौँ । सडक विभागसँग स्वीकृति लिएका छौँ । अब थप स्थानमा मर्मत गर्नेछौँ । ” मेलम्चीको पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । महाँकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु र बाँसबारीको पोखरीबाट वितरण भइरहेको छ । यी पोखरीबाट पुरानो पाइपलाइनमा पानी वितरण भएको छ ।

मेलम्चीको पानी सुन्दरीजलमा दैनिक १७ करोड लिटर आइरहेको छ । पाइपलाइनमा एकैचोटि पानी वितरण नगरी परीक्षणका लागि बिस्तारै पठाइएको छ । गोरखापत्र दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्