काठमाडौं, ९ वैशाख । नेकपा एमालेका १५ प्रभावशाली नेताहरुले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलन नै बिर्सजनको दिशामा पुगिरहेको निष्कर्ष निकालेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७२औं स्थापना दिवसमा माधवकुमार नेपाल, झलनाथ खनालसहित १५ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी ओलीले एमालेलाई विभाजन र विघटनको दिशामा लगेर अन्त्यतः कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गराउन खोजेको निष्कर्ष निकालेर गम्भीर आरोप लगाएका हुन् ।
‘कमरेड केपी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्त्यतः कम्युनिस्ट आन्दोलनकै विसर्जनको दिशा हो,’ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसमा एकताको अपिल जारी गर्दै १५ नेताहरुले भनेका छन्,‘पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ ।’
अपिल गर्नेहरुमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन् ।