काठमाडौं, ९ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावका लागि परिस्थिति नबनिसकेको भन्दा भन्दै आफूमाथि दबाब सृजना गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुमाथि आक्रोश पोखेका छन् । उनले बारम्बार आफूलाई अविश्वासको प्रस्तावका लागि नबढेको भनी दबाब दिएर फसाउन खोजेको भन्दै आक्रोश पोखेका हुन् ।
बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारी बैठकमा हिजो देउवाले निकै आक्रोश पोखेको सहभागी एक नेताले बताए । जनता समाजवादी पार्टीले साथ दिदैन भन्दा भन्दै किन अविश्वासको प्रस्ताव नल्याएको भनी दबाब दिएको ? भन्दै देउवा कुर्लिएका थिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि आक्रोश पोखेका थिए ।
देउवाले आफूलाई पदलोलुप देखाउन खोजेको आरोप समेत लगाए । उनले प्रधानमन्त्रीका लागि आफू मरिहत्ते नगर्ने स्पष्ट पार्दै परिस्थिति नबनी अगाडि नबढ्ने स्पष्ट पारेका थिए ।
माओवादीले सरकारलाई दिइआएको समर्थन समेत फिर्ता नगरेकोमा देउवाको असन्तुष्टि थियो । उनले माओवादी समर्थन फिर्ता नलिने र जसपा पनि ओलीविरुद्ध एक नहुने घटनालाई गम्भीरताका साथ लिनुपर्ने बताएका थिए । उनले संयमित भएर बढ्नुपर्नेमा समेत जोड दिएको बुझिएको छ ।
नेपाली काँग्रेसले ओली सरकारको विकल्प खोज्ने निर्णय समेत गरेको छ । तर, त्यसका लागि परिस्थिति विकास गर्न जोड दिएको छ ।