काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता जारी छ । काठमाडौंको नक्सालस्थित् होटल मेरियटमा जारी भेटवार्तामा दुवै नेताले आ–आफ्नो अडान राखेका छन् ।
हिजो पनि दुई नेताबीच मेरियट होटलमै भेटवार्ता भएको थियो । स्रोतकाअनुसार दुवै नेताले पार्टीलाई एकता बनाउने विषयमा गम्भीर छलफल भैरहेको छ । तर, सहमतिको लागि नेता नेपालले २०७५ जेठ २ गतेमा फर्किनुपर्ने अडान राखेका छन् । त्यसो भए भनेमात्रै मिल्न सकिने उनको बटमलाईन छ । तर, अध्यक्ष ओलीले भने कुनैपनि हालतमा २०७५ जेठ २ गतेतिर फर्कन नसकिने अडान राखेका छन् ।
ओली र नेपाल मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गर्दै
हिजो पनि दुई नेताबीच यही विषयमा सहमति भएको थिएन । तर, दुवै नेताले आजपनि वार्तामा बस्ने सहमति गरेका थिए । सोहीअनुसार भेटवार्ता भएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ताले एमाले पँक्तिमा भने उत्साह देखिएको छ । नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन् ।