काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको लागि १२ बुँदे प्रस्ताव अघि सारेका छन् । नेता खनालले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत अध्यक्ष ओलीसमक्ष पार्टी एकताको लागि प्रस्ताव अघि सारेको जानकारी दिएका छन् ।
आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो खुलासा गरेका हुन् । यसअघि नेता खनाललाई भेट्न राष्ट्रपति भण्डारी खनाल निवास डल्लुमा पुगेकी थिईन् ।
नेता खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजानको लागि अध्यक्ष ओलीले अहम र हठ त्याग्नुपर्ने बताएका छन् । उनले भनेका छन्,‘नवौं महाधिवेशनमा विचार हाम्रो र नेतृत्व ओलीको भयो । यहीँबाट समस्या पैदा भएको हो । मैले पार्टी एकताको लागि मैले १२ बुँदे प्रस्ताव ओलीजीलाई पठाएको छु ।’
उनले उक्त प्रस्ताव राष्ट्रपति भण्डारीमार्फत यसअघि नै पठाएको भएपनि अहिलेसम्म त्यसको जवाफ नआएको जानकारी दिए । उक्त प्रस्तावमा पार्टीको संरचनादेखि, नवौं महाधिवेशनको विचार र नेतृत्व, फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला, फागुन २८ गतेको ओलीले एकलौटी रुपमा गरेका निर्णय खारेज लगायतको विषय समावेश गरेको उनले जनाए । File Photo/ReportersNepal