Logo

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै, माधव नेपाल पक्षमाथि कारबाहीको तयारी



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपालसहित उनी पक्षधर २७ जना सांसदलाई थप कारबाही गर्ने तयारी रहेको स्रोतको दाबी छ । यसअघि गत बैशाख ६ गतेको बैठकले नेता नेपालसहित ती २७ जना सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएकोले थप कारबाहीको तयार भएको बुझिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सच्चिएर पार्टीमा फर्किनको लागि आग्रह गरेका थिए । र, अन्यथा हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका थिए । तर, नेपाल पक्षधर नेताहरुले हिजो गरेको सामूहिक अपिल र छुट्टाछुट्टै स्पष्टीकरणको जवाफबाट ओली सन्तुष्ट छैनन् । उनले आफूनिकट नेताहरुसँगको छलफलपछि अब माधव नेपाल पक्षधरलाई कारबाही गर्ने निश्कर्ष सुनाएका छन् ।

यही बैशाख ८ र बैशाख ९ गते अध्यक्ष ओलीले नेता नेपालसँग एक्लाएक्लै भेटवार्तासमेत गरेका थिए । तर, दुवै नेता आफ्नो अडानबाट टसमस नभएपछि वार्ता सकारात्मक हुन सकेन । नेता नेपालले पार्टी एकताको लागि ओली फागुन २८ गतेको निर्णयबाट ब्याक हुनुपर्ने र २०७५ जेठ २ गतेकै अवस्थामा एमालेलाई फर्काउनुपर्ने अडान राखेका थिए । तर, ओलीले आफू धेरै अघि बढिसकेकोले अब पछि फर्कन नसक्ने आफ्नो अडान सुनाएका थिए ।

हिजो राति अध्यक्ष ओलीले अर्का नेता वामदेव गौतमसँग पनि भेटवार्ता गरेका थिए । बालुवाटारमा डिनर बैठक गरेका नेता गौतम पनि ओलीसँग नमिल्ने पक्षमा पुगेका छन् । उनले आफू डिनर चल्दै गर्दा बालुवाटारबाट बाहिरिएको खुलाएका छन् । र, ओली फागुन २८ गतेको निर्णयबाट पछि नहट्ने भएपछि आफूले पनि ओलीलाई सँगै जान नसकिने जवाफ दिएको उनले स्पष्ट पारेका छन् । FIle Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्