महेन्द्रनगर, १० बैशाख । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो ।
लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम प्रदेशमा मनाउन भारतबाट यहाँका नाकाबाट स्वदेश फर्किनेको लर्को भएसँगै नमूना परीक्षण थालेको स्वास्थ्यको टोलीले आउने सबैको कोरोना परीक्षण गर्न सीमामा सम्भव भएनन् ।
“दैनिक एक हजारदेखि एक हजार ५०० जति गौरीफन्टा नाकाबाट नेपाली घर आउँदा हामीले ३०० को हाराहारीमा कोरोना परीक्षण गर्दा दश प्रतिशतमा पोजेटिभ देखिन्थ्यो ।” गौरीफन्टा नाकाको डोकेबजारमा खटिएका अहेब गणेश साउँदले भने, “अहिले सङ्क्रमण देखिने दर दोब्बरले बढे पनि सीमामा स्वास्थ्य परीक्षण प्रभावकारी हुन सकेन ।” पहिलोपटक गत वर्ष चैतमा मुलुकमै सबैभन्दा पहिले लकडाउन गरेको कञ्चनपुर स्थानीय प्रशासनले केही सातायता कोरोना सङ्क्रमणको दर ह्वात्तै बढ्दा त्यसको व्यवस्थापनका लागि गतिलो प्रयास गर्न सकिरहेको छैन ।
विगतमा यहाँका नौवटै स्थानीय तहले पालिकास्तरमै आइसोलेसन कक्ष बनाउनुका साथै स्वास्थ्य सावधानीका लागि सक्रियता देखाए पनि दोस्रो पटकको सङ्क्रमण महामारीका रुपमा फैलिँदा पहलकदमी भने देखिएको छैन । भीमदत्त नगरपालिकाले नेपाली सेनाको सहयोगमा अघिल्लो वर्ष स्थापना गरेको १०० श्ययाको आइसोलेसन कक्षमा सङ्क्रमतिको व्यवस्थापन गर्न थालिएको छ । दोस्रो पटक सङ्क्रमण दर समुदायस्तरमा फैलिएसँगै यहाँको महाकाली अस्पतालमा दिनहुँ कोरोना परीक्षण गराउनेको भीड बढ्न थालेको छ । महाकाली अस्पतालका डा गोविन्द रोकायाले स्थानीयस्तरमा समेत कोरोना सङ्क्रमण भयावह रहेको बताए ।
“हामी दैनिक यहाँ पिसिआर विधिबाट ५० जनाको कोरोना परीक्षण गरिरहेका छौँ ।” उनले भने, “तीमध्ये ७० देखि ८० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।” उनले कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि अस्पतालमा रहेको जनरल आइसियु वडामा कोरोना सङ्क्रमित राखेरसमेत उपचार थालिएको छ । “भारतबाट आउनेमध्ये धेरैलाई बिना लक्षण कोरोना देखिने गरेको छ ।” उनले भने, “स्थानीयमा भने लक्षणसहितको कोरोना देखिने क्रम बढेको छ ।” महाकाली अस्पतालमा हाल २६ जना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये छ जना बिरामीको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ । रासस