काठमाडौं, बैशाख १३ । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्य पदमा ६ जेठमा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । स्वीकृत कार्यतालिका अनुसार २१ वैशाखमा मतदाता नामवली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ वैशाखमा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, २३ वैशाखमा अन्तिम मतदाता नामवली प्रकाशन गरिने आयोगले जनाएको छ ।
यसैगरी, २४ वैशाखमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तथा मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ वैशाखमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र २७ वैशाखमा उम्मेदवारको नामवली प्रकाशन हुनेछ ।
यस्तै, २८ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । राजधानी दैनिकबाट