काठमाडौं, बैशाख १३ । सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् ।
त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय र निकायबाट बारम्बार हुने गरेको अनुगमन, प्रगति समीक्षा तथा सहजीकरणका कारण विशेष भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताए । उनले अहिलेसम्म यी भवन निर्माणमा दोस्रो चरणको कोभिड–१९ को महामारीको प्रभाव नपरेको स्पष्ट पारे ।
सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार प्रधानमन्त्रीको सरकारी आवास निर्माण माघसम्मको समष्टिगत भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उनले निर्माणाधीन दुई भवनमध्ये प्रधानमन्त्रीको निवास साउनसम्म निर्माण गरी प्रधानमन्त्री निवास स्थानान्तरण गर्ने जानकारी दिँदै अर्को निर्माणाधीन सार्वजनिक भवन दशैँसम्म निर्माण सम्पन्न हुने बताए।
गोदावरीमा निर्माणाधीन सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ । उनले यसको मुख्य निर्माणको काम सम्पन्न भइसकेको छ र साजसज्जा, रङरोगन, हरितीकरणलगायतका काम मात्र बाँकी रहेको जानकारी दिए । वैशाखको दोस्रो हप्तासम्म यस सभाहलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । उनका अनुसार जेठको पहिलो हप्तामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस सभाहलको उद्घाटनको तयारी भइरहेको छ ।
त्यसैगरी सङ्घीय संसद् भवनको भौतिक प्रगति २८ प्रतिशत रहेको छ भने सङ्घीयमन्त्री आवास निर्माणको भौतिक प्रगति ५५ प्रतिशत, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको निर्माण प्रगति ५५ प्रतिशत रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।