काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारले कडा निर्णय लिने भएको छ । आज साँझ ५ बजेका लागि बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि थप निर्णय लिने तयारी गरेको हो ।
आजको बैठकमा कोभिड-१९ व्यवस्थापन केन्द्र सीसीएमसी को बैठकले देशभरका परीक्षाहरु स्थगित गर्ने निर्णयबारे छलफल गरी टुंगोमा पुग्नेछ । विद्यालय स्तरका बालबालिकामा कोभिड-१९ को जोखिम बढेपछि सरकारले परीक्षा स्थगितको निर्णय लिन लागेको हो । यसबाट एसईई, दश जोड दुई र विश्वविद्यालयहरुका परीक्षा प्रभावित हुनेछन् ।
यसैगरी, अक्सिजनको अभावलाई दृष्टिगत गरी सरकारले सिलिन्डर आयात गर्न भन्सार छुट दिने निर्णय गर्ने तयारी समेत गरेको छ । कम्तिमा २० हजार अक्सिजन सिलिन्डर आयात गर्ने तयारी भएको छ ।
सीमा नाकामा कडाईबारे समेत सरकारले निर्णय लिने तयारी गरिसकेको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले थप कडा निर्णयहरु लिनेगरी सतर्कता देखाएको छ ।-फाइल तस्बिर