वैशाख १३, काठमाण्डौ । हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको थियो । उक्त प्रस्तावमाथि मंगलबार छलफल हुँदैछ ।
अहिलेसम्मको प्रदेश सभाको अंक गणित हेर्दा मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् । उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुने र बुधबार मतदान हुने छ । तर सदनभित्रको समिकरण सरकारविरुद्ध रहेकाले मुख्यमन्त्रीले राजीनामा दिन पनि सक्ने अनुमान गरिएको छ ।
सदनमा माधव नेपाल समर्थक एक सदस्यसहित एमालेका २७, माओवादीका १२ (एक सभामुखसहित) नेपाली कांग्रेसका १५, स्वतन्त्र १ र चित्रबहादुर केसी समर्थक तीन सदस्य छन् ।
स्वतन्त्र राजीव गुरुङबाहेक प्रतिपक्षका सबै सदस्यहरूले गुरुङ सरकारविरुद्ध उभिने स्पष्ट पारेका छन् । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका थिए । नेपाली मुख्यमन्त्रीका लागि प्रस्तावित सांसद पनि हुन् ।