काठमाडौं, १७ वैशाख । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका ४ जना अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरिरहेका छन् । उनीहरुले सांसदबाट पदमुक्त गरिएको विषयमा भावी रणनीति तय गर्नेबारे छलफल गरिरहेका हुन् ।
जसपाको बबहरमहलस्थित कार्यालयमा छलफल चलिरहेको छ । छलफलमा लुम्बिनी प्रदेशका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छलफलमा छन् । उनीहरुलाई पार्टीको नीति विपरित कार्य गरेको भन्दै प्रदेश कमिटीले पत्र लेखी सांसद पदबाट निष्काशित गर्न भनेबमोजिम हटाइएको सुचना प्रकाशित भएको छ ।
आफ्ना पक्षका ४ प्रदेश सभा सांसद पदमुक्त भएपछि महन्थ ठाकुर असन्तुष्ट छन् । उनले कारबाहीलाई अवैधानिक भनिसकेका छन् । ४ जना प्रदेश सभा सांसद अदालतमा जानेबारे छलफलमा बसेका हुन् ।
उपेन्द्र यादव पक्षधरले ४ सांसदलाई पदमुक्त गरेको हो । उनीहरु मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि कित्ता परिवर्तन गरी मन्त्री बनेका थिए । यो घटनाले जसपाभित्र विवाद चुलिएको छ ।