Logo

जसपाका बहुमत सदस्य प्रधानमन्त्री ओलीविरुद्ध ल्याउने अविश्वास प्रस्तावको पक्षमा



काठमाडौं, १७ बैशाख । जनता समाजवादी पार्टी, नेपालका बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने भएका छन् । यही बैशाख १४ गते बसेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीविरुद्ध ल्याईने अविश्वासको प्रस्तावको पक्षमा उभिने निर्णय गरेका हुन् । यद्धपी उक्त बैठकमा अध्यक्ष महन्थ ठाकुर पक्षधर सहभागी नभएको जनाईएको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर सुरुदेखि नै प्रधानमन्त्री ओलीविरुद्ध उभिने बताउँदै आएको थियो । बैशाख १४ गतेकै बैठकमा बुहमत सदस्यहरुको उपस्थितिले लुम्बिनी प्रदेशका चार जना सांसदलाई पनि कारबाही गर्ने निर्णय भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नुअघि अध्यक्षद्धय ठाकुर र यादव, संघीय परिषद अध्यक्ष डा. भट्टराई, शीर्ष नेताहरु राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठको बैठक बसेको थियो । उक्त बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउने विषयमा छलफल भएको थियो ।

यादव र भट्टराई तत्काल कार्यकारिणी समिति बैठक बोलाउने पक्षमा थिए भने ठाकुर र महतो बैठक नडाक्ने पक्षमा थिए । तर, ठाकुर र महतोको असहमतिको बावजुद पनि जसपाको कार्यकारिणी समिति बैठक बसेको थियो । उक्त बैठकमा ५१ सदस्यीय कार्यकारिणी समितिमा २६ जना बहुमत सदस्यहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र लुम्बिनी प्रदेशका ४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्