स्तम्भ संवार्ता : डा. ज्ञानू पाण्डे
पिता/माता : पोषण पाण्डे/तीर्थकुमारी पाण्डे
जन्मस्थान :इन्द्रचोक, काठमाडौं
अध्ययन : पीएचडी.
संलग्नता : त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक र प्राज्ञपरिषद् सदस्य (२०७०–२०७४ नेपाल प्रज्ञा–प्रतिठान)
प्रथमप्रकाशित रचना : ‘उत्कण्ठा : एक अपराध’ (कविता)
प्रकाशित कृतिहरू: विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा अस्तित्ववाद, विकीर्ण अनुशीलन , नेपाली उपन्यासमा
लैंगिकता, नेपाली नारी कथा, समकालीन पाश्चात्य समालोचना सिद्धान्तका प्रणेताहरू (सम्पा.) ,
नारी साहित्यकारको विधागत इतिहास (सह सम्पा.) ।
तपाईंको विचारमा साहित्य के हो ?
साहित्य गम्भीर बौद्धिक कर्म हो । दायित्वबोधका साथ अभिव्यक्तिनुपर्ने थलो हो यो । कलात्मकता यसको श्रृङ्गार हो र सुन्दर एवं सकारात्मक दृष्टिको प्रकाशन यसको प्राण हो ।
तपाई साहित्यमा लाग्न सुरुमा कसरी प्रेरित हुनभुयो ? तपाईंको साहित्य यात्रा कसरी आरम्भ भयो ?
म साहित्यिक पारिवारिक पृष्ठभूमिमा जन्मिएर हुर्किई बढेकी व्यक्ति हुँ । नेपाली साहित्यकी माध्यमिककालीन कवि भगवतकुमारी पाण्डे मेरी हजुरमुमा हुन् । बुबा पोषण पाण्डेको साहित्यिक व्यक्तित्व यथार्थमा उहाँकै प्रेरक आशीषको वरदान हो । अनि मेरो कलमको मुख्य प्रेरणाचाहिँ बुबाको साहित्यिक व्यक्तित्व हो ।
मेरो साहित्य यात्रा प्रथमतः रेडियो नेपालको बाल कार्यक्रममा कवितावाचन गरेर आरम्भ भएको हो । त्यतिबेला बुबाले मलाई हात समाएर रेडियो नेपालको स्टेडियममा लग्नुभएको थियो । तर कविता के हो भन्नेबारे बुझेर कवितामा मैले कलम चलाउन सुरु गरेको चाहिँ तीसको दशकको उत्तराद्र्धमा आएरमात्र हो । ‘उपहार’ साहित्यिक त्रैमासिकमा उत्कण्ठा एक अपराध शीर्षकको कविता (२०३७) छापिएपछि नै मेरो खास लेखनयात्रा सुरु भएको हो ।
हाल तपाईको लेखन गतिविधि कसरी अघि बढिरहेको छ ?
घरि अरूका विषयमा लेखेर त घरि आफ्नै सिर्जनामा रमाएर निरन्तर लयमा अघि बढिरहेको छ मेरो लेखन गतिविधि । म हतारो गरेर लेख्तिनँ वा; लेख्न सक्तिनँ । मलाई लेख्न बस्ता धेरै समय चाहिन्छ ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
जिम्मेवारीमा आएका अनुसन्धनात्मक र प्राज्ञिक काम त्यहीअनुसारले गर्नुपर्ने हुन्छ । तर सिर्जनात्मक लेखनमा लाग्दा भने म स्वतन्त्र रूपले विषय छनौट गर्छु ।
तपाई शायद पत्रकारितामा पनि अलि समय लाग्नुभएको थियो क्यारे । त्यससम्बन्धी अनुभवबारे केही बताइदिनुहुन्छ कि ?
मेरो मुख्य कार्यक्षेत्र प्राध्यापन हो । साहित्य मेरो अध्ययन–मनन र लेखनको मूल विषय । तर पनि विशेष रुचिका कारण एक समय म पत्रकारितामा पनि प्रत्यक्ष–परोक्ष रूपमा संलग्न रहेँ । २०४६ को जनआन्दोलनताका पञ्चायती निरंकुशतन्त्रविरुद्ध मनमा उठेका भाव पोख्न मैले अखबारमा स्तम्भलेखन सुरु गरेकी हुँ । त्यसबेलाको राष्ट्रपुकार साप्ताहिकमा मेरा कयौं लेख छापिएका छन् । पछि नेपाल प्रेस इन्स्टिच्युटको दशमहिने पत्रकारिता तालिमको क्रममा इन्टर्नका रूपमा युगसम्वाद साप्ताहिकमा पनि म केही महिना संलग्न भएँ । हिमालय टाइम्स मा त मैले केही वर्ष वरिष्ठ उपसम्पादक तहमा रहेर फुलटाइम काम नै गरेकी हुँ । त्यसपछि यता अन्नपूर्ण पोष्टमा तीनचार वर्ष साप्ताहिक रूपमा र कान्तिपुरमा प्रत्येक १५ दिनमा एउटाका दरले छ सात वर्षसम्म मैले लगातार विभिन्न शीर्षकका विचारप्रधान लेख लेखें । ती सबै लेख अझै सुरक्षित छन् मसँग । मेरै लेखनमा तयार भएको सञ्चार विषयसम्बद्ध अनुसन्धानमूलक पुस्तक सञ्चारकर्मी महिलाको अवस्था २०६२ मा सञ्चारिका समूहले प्रकाशन गरेको छ । त्यस पुस्तकको तयारीका क्रममा प्रमुख अनुसन्धाताका रूपमा भूमिका निर्वाह गर्दाका अनुभूति तथा उक्त पुस्तक लेख्ताको अनुभव मेरो स्मृतिमा अझै ताजै छ । पत्रकारितासित जोडिएको आफ्नो जीवनका ती पल र खासगरी सञ्चारिका समूहमा सात वर्षसम्म लगातार जोडिएर रहँदाका बेला भेटिएका विभिन्न रूप, रोगन, विचार र स्तरका पात्र सम्झँदा अहिले पनि मनमा एकैसाथ अनेक रंगको अनुभूति मडारिन्छ मेरो । लाग्छ– ती अनुभूतिलाई म तुरुन्तै लिपिबद्ध गरिहालूँ ।
साहित्यमा तपाईको लेखन खासगरी समालोचना विधामा केन्द्रित देखिन्छ । यसका पछाडि कुनै खास कारण छ कि?
प्राध्यापन पेशाका कारणले पनि यसो भएको हुन सक्छ । तर त्यसको मतलब सिर्जनात्मक विधामा कलम चलाउन मलाई रुचि छैन भन्ने कुरा पटक्कै होइन । कविता मलाई असाध्यै मन पर्ने विधा हो । मेरो लेखनयात्रा कविता रचनाबाट नै आरम्भ भएको कुरा माथि खुलिसकेको छ । निबन्ध लेखनमा पनि मलाई उस्तै रूचि छ । तर यी दुवै विधामा अहिलेसम्म मेरा फुटकर रचनाहरूमात्र प्रकाशित छन् ।
समालोचनामा तपाईंले कहिलेदेखि कलम चनाउन सुरु गर्नुभयो ?
समालोचनामा म चालीसको दशकबाट संलग्नभएकी हु“ । २०४४ मा गरिमामा छापिएको ‘निर्बन्ध उपन्यास ः एक दृष्टिकोण’ शीर्षकको लेख मेरो पहिलो समालोचना हो ।
तपाईंका विचारमा सिर्जना र समालोचना विधाबीच के कस्तो अन्तर्सम्बन्ध छ ?
म ठान्छु– सिर्जना र समालोचनाको सम्बन्ध नङ र मासुजस्तो नजिकको हो ।
तपाईले बीपी विषयमा विद्यावारिधि गर्नुभयो । साहित्य र राजनीतिमध्ये बीपी केमा बढी सफल भएको अनुभूति हुन्छ ?
बीपीलाई साहित्य र राजनीति दुवै क्षेत्रमा उच्च सफलता हासिल भयो । जसरी आधुनिक नेपाली साहित्यको इतिहासबाट उनको नाम झिकिदिने हो भने त्यो अपूर्ण बन्दछ– त्यसरी नै नेपाली राजनीतिक इतिहासमा पनि उनको नामको उचाइ उस्तै अतुलनीय छ । उनी नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका केन्द्रीय धुरी अनि सर्वोच्च शिखर हुन् । हामी सबैलाई थाहा छ, आज उनी दिवगंत भएको यतिका वर्ष बितिसके पनि उनको योगदानको उचाइ र उनको नामको प्रभावलाई नाघ्न सक्ने अर्को कुनै राजनीतिज्ञको नेपालमा जन्म हुन सकेकोे छैन ।
तपाईंका विचारमा बीपी कस्ता साहित्यकार हुन् ?
बीपी दार्शनिक कोटिका साहित्यकार हुन् । जीवनको गहिरो सत्यलाई दार्शनिक स्पर्शका साथ अभिव्यक्ति दिनु उनको कलमको मुख्य विशेषता हो । उनको साहित्य पढ्दा ‘हरेकले आफ्नो आस्तित्विक यथार्थमा अन्तर्निहित सीमाप्रति उच्च सचेतता राख्तै त्यही सीमाभित्र स्वयंप्रति पूर्ण इमानदार भई सार्थक जीवन बाँच्न प्रयास गर्नुपर्छ भन्ने बोधले आलोकित भइन्छ ।
तर बीपीलाई मूल रूपमा यौनवादी साहित्यकार भन्ने गरिएको पाइन्छ नि त ?
बीपीलाई यौनवादी साहित्यकारको विल्ला तत्कालीन निरंकुश राजनीतिक परिस्थितिले भिराइदिएको हो । नेपाली साहित्यमा प्रवेश गर्दा आरम्भमा यौन मनोविज्ञानको प्रयोग गरिएको रचना लिएर अघि बढेका बीपीले समयक्रममा आफ्नो साहित्यमा जीवनका अरू पनि कैयन् महत्वपूर्ण पक्षलाई वाणी दिएका छन् । तर उतिबेला देशको साहित्यिक वृत्तमा उनीबारे गहिरो अध्ययनमनन गरी विचार दिन सक्ने माहौल थिएन । सर्वविदितै छ– पञ्चायती राजमा बीपीको नाममात्र लिनु पनि ठूलो अपराध गरेझैं ठानिन्थ्यो मुलुकभित्र । त्यसैले पनि होला– २०४६ भन्दा अघिसम्म त बीपीका साहित्यबारे कुरा गर्दा खालि उही यौनमनोविश्लेषणको पक्षको मात्र बढ्दा चर्चा गर्ने गरिएको भेटिन्छ । २०४६ यताको समयमा आएपछि मात्र त हो बल्ल उनको साहित्यिकताबारे अलि विस्तृतमा अध्ययन गर्न थालिएको !
अन्तमा केही भन्न चाहनुहुन्छ कि ?
नेपाली साहित्यले वर्तमानमा ठूलो फड्को मार्दै गएको छ । नेपालभित्रमात्र होइन– नेपालबाहिर धेरै टाढासम्म पुगेका नेपाली दिदीबहिनी तथा दाजुभाइले निरन्तर रूपमा लेखेर तथा विभिन्न संगठनमार्फत नेपाली साहित्यको विस्तारमा महत्वपूर्ण ढंगले काम गरिरहनुभएको छ । यो धेरै उत्साहलाग्दो कुरा हो । विश्व आकाशमा नेपाली साहित्यको उज्यालो फैलाउन र नेपाली साहित्यको उचाइलाई अभिवृद्धि गर्न सबैतिरबाट हामी सबै नेपाली जसरी अहिले लागिरहेका छौं– यसमा हामी अझै मेहनतका साथ डटौं भन्न चाहन्छु ।