काठमाडौं, बैशाख १९ । उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप कडाइ गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आजबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जनाएका छन् ।
आजबाट जिल्ला प्रशासनले पत्रकारको सवारीमा समेत कडाइ गर्दै सूचना विभागको पास अनिवार्य गरिएको छ भने बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न भनिएको छ ।
त्यस्तै, सरकारी सवारी साधन बिदा र शनिबारको दिन पूर्णरुपमा निषेध गरिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएका छन् ।