काठमाडौं, बैशाख २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा आइतबार साँझ सपथग्रहण गराइएको हो ।
प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सपथग्रहण भएको हो । यसअघि, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको १२ घण्टा नबित्दै पुनः सोही पदमा नियुक्त भएका थिए ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतवार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।
आइतवार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई पोखरेलले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै राजीनामा बुझाएका थिए । लुम्बिनी प्रदेशमा सत्तासमीकरणमा रस्साकस्सीका बीच तत्कालीन नेपाल कम्युनिस्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वली माओवादी केन्द्रतर्पm लागेपछि एमालेका पोखरेलले बहुमत गुमाएको विपक्षीको भनाइ थियो । आर्थिक अभियान दैनिकबाट