Logo

औषधिमा भ्रष्टाचार अक्षम्य अपराधः देउवा



काठमाडौं, बैशाख २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन् । समयमा कोभिड–१९ विरुद्धको खोप व्यवस्था नगर्दा अहिले नेपाल विश्वमा नै कोभिड–१९ को उच्च जोखिममा रहेका देशहरूमा गनिन पुगेको देउवाले उल्लेख गरेका छन् ।

महामारी दिनानुदिन विस्तार हुँदै गएको, दैनिक हजारौंको संख्यामा संक्रमित थपिएको र देशभरिका अस्पतालमा संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरसहितका आइसियु बेड र औषधि अभाव भएका बेला पनि सरकार कमिसनको चक्करमा फसेको आरोप देउवाले लगाएका छन् । ‘अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नुपरेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनुपरेको दयनीय घटना देखा परेका छन् । कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजुद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले कमिसनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ ।’

वर्तमान सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ नभएको जनाउँदै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीय, अनैतिक र गैरजिम्मेवारीको पराकाष्ठा एवं जनताविरुद्धको अक्षम्य अपराध भएको उल्लेख गरेका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्