गोविन्दराज भट्टराई : सिर्जनात्मक लेखन भनेको कुनै लेखनको प्रकृति होइन, यो लेखनको सारतत्त्व र मुटु हो; यो सिर्जनाको अन्तिम स्वरूप पनि हो । सिर्जना सिक्ने कुरा हो ? अथवा यो स्वयम प्राप्त हुन्छ ? अथवा यो कुनै वरदान हो ? यो कुरा मलाई थाहा छैन । विगतका चालीस वर्षदेखि म यही कर्म गरिरहेको छु, यो मेरो अस्तित्त्वको नै एउटा अभिन्न अङ्ग बनिसकेको छ । अब ता नलेखीकन उत्तरजीविता सुनिश्चित हुन्छ जस्तो लाग्दैन । अथवा म लेख्तै छु भन्ने कल्पना नगरीकन या म एउटा स्रष्टा हुँ भन्ने कुरो बहाना नगरीकन अथवा एकचित्तले लेखनमा लागिनरहेसम्म म बाँच्न सक्तिनँ ।
लेख्नुको तात्पर्य मेरा लागि सिर्जनाको लेखन हो भनौं, सिर्जनात्मक लेखन हो । त्यसैले लेखक भनेपछि अपरिहार्य रूपले मेरानिम्ति एउटा सिर्जनात्मक लेखक अथवा स्रष्टा नै हो । त्यस कारण लेख्नुको तात्पर्य मेरानिम्ति सम्पूर्ण रूपले सिर्जनात्मक लेखनमा समर्पित हुनु हो । त्यसो भए तापनि मैले आजसम्म सिर्जनात्मक लेखनको कुनै पाठ सिकेको कक्षा लिएको सम्झना छैन । म केवल एउटा कुरा सम्झन्छु— कसरी मैले सर्वप्रथम सिर्जनात्मक लेखन आरम्भ गरेँ ? कसरी अचानक उठेका सरल विचारहरूलाई एउटा कागतको टुक्रामा जोड्दै गएँ र कसरी म बारम्बार निरास हुने गरी त्यसमा असफल हुँदै गएँ अनि कसरी म अनन्त रूपले नहारीकन लेख्ने सङ्घर्ष गरिरहेँ ? मैले यस्ता कुरा कसैलाई भन्न सक्तिन थिएँ । केवल आफ्नै मनलाई सुनाउँदै आएँ ।
आज म यो कल्पना गर्दछु— मेरो त्यो प्रयत्न व्यर्थ थियो । किनभने मलाई बाबुआमाले अथवा मेरो समाजले विद्यालयमा गएर कविता लेखोस् भन्ने कामना गर्दैनथे । न त शिक्षकहरूले नै मबाट यस्तो कुराको अपेक्षा राख्दथे । अथवा म जस्ता कुनै विद्यार्थीहरूबाट यस्तो अपेक्षा राख्दथे । यस्ता व्यर्थका प्रयत्नहरूका बारेमा समाज अनभिज्ञ थियो । यस्तो कर्म व्यक्तिगत अभिरुचिको कुरा हुन्थ्यो । अझै पनि त्यो धारणा बदलिएको छैन ।
त्यस कारण सिर्जनात्मक लेखनमा बारम्बार असफल हुनु मेरो निम्ति स्वाभाविक थियो । किनभने मैले पढेका पुस्तकहरूमा कसरी शब्दको उच्चारण गर्नू, कसरी तिनीहरूको हिज्जे गर्न जान्नू भन्ने पाठहरू हुन्थे । बिस्तारै मैले ती शब्दहरूलाई वाक्यमा प्रयोग गर्नसम्म सिक्नुपर्ने हुन्थ्यो । कसैले झुक्किएर पनि कहिल्यै सिर्जनात्मक लेखनको कुरा गरेन । त्यो कलालाई गोप्य रूपले आफ्नै इच्छाले सिक्नु पर्दथ्यो । अझै पनि स्थिति त्यस्तै छ । त्यसकारण त्यो असफलताको अनुभूति र पीडा मेरो हृदयमा सीमित थियो ।
शाब्दिक अथवा व्याकरणिक ज्ञान कुनै प्रकारले सिर्जनात्मक लेखनसँग जोडिँदैन । त्यसो त मैले पनि पढ्न र लेख्न सिकेँ । तर पढ्नुको तात्पर्य काला सङ्केतहरूलाई मनले छुट्याएर ओठले उच्चारण गर्नु अनि लेख्नुको तात्पर्य तिनै आवाजहरूलाई एउटा कागजमा टिप्न खोज्नु मात्र थियो । यो एउटा भावनाशून्य कर्म थियो । यसको तात्पर्य कुनै संरचना वा ढाँचालाई दोहोर्याउनु भन्ने मात्र हुन्थ्यो । पढ्दै लाँदा मेरो शब्दभण्डार बढ्दै गयो; वाक्यसंरचनाको ज्ञान पनि निकै बढाएँ । तर त्यसले मेरो लेखनशिल्पलाई बढाएन । यसको कारण के हो भने शब्द र वाक्यसंरचनाको ज्ञानले कुनै कल्पना कर्मलाई प्रोत्साहित गर्दैन भने यस्तो कल्पना र भावनाले चल्ने ज्ञान नै सिर्जनात्मक लेखनको एउटा आधार हो । सुरुमा सिर्जना भन्ने कुरा अकस्मात् घट्ने घटना हो । यो आफैँ हुन्छ । मानिलिऊँ यो एक प्रकारको उद्वोधन हो अथवा स्वप्रकाशन हो । त्यसैकारण एउटा ठूलो भाषाविद् होस् अथवा एउटा ठूलो समालोचक होस् कहिले ता एउटा मात्र रचना पनि सिर्जना गर्न नसकी उसको अन्त्य हुन्छ । सिर्जना भन्ने कुरा कसैको डिग्री अथवा डिप्लोमासँग जोडिएको हुँदैन । यो कुनै प्राज्ञिक उपलब्धिको लागि गरिने परिश्रमको परिणाम पनि होइन । यो सम्पूर्ण रूपले कलासित सम्बद्ध हुन्छ । किनभने यो मानविकीसँग जोडिएको विधा हो ।
सिर्जनात्मक लेखनको परिचय गर्न खोज्दा मेरा मेरा हृदयमा केही अस्पष्ट विचारहरूको, अस्पष्ट बिम्बहरूको प्रतिध्वनि ठोकिन्छ । म तिनीहरूलाई कुनै प्रकारले बोधगम्य आकारमा परिणत गर्न खोज्छु । त्यसो त मैले आजभन्दा पाँच दशक पहिले नै त्यसो गर्न थालेको हुँ र आजसम्म पनि त्यही अभ्यास निरन्तर राखेको छु । यद्यपि मलाई त्यो सम्बन्धमा अरू ज्ञान छैन । मेरो सङ्घर्ष अझै सकिएको छैन । जति धेरै गर्छु, त्यति धेरै आफ्नो सिर्जना अझै अपूर्ण र अपरिपक्व रहेको आभास मिल्छ । के भएको होला ?
मेरो निमित्त सिर्जनात्मक लेखन भनेको एउटा अभिव्यक्ति कला हो, त्यो सम्पूर्ण स्वाभाविक हुन्छ, स्वस्फुर्त हुन्छ । यो मानव जातिलाई स्वत:प्राप्त एउटा उपहार हो । यद्यपि यो वरदान वा उपहार प्रत्येक मस्तिष्कलाई अथवा हृदयलाई समान रूपले वितरित हुँदैन । त्यसो त प्रत्येक विद्यालयले, महाविद्यालयले गणित, विज्ञान, अर्थशास्त्र आदि सिकाउँछन् । भाषा र साहित्य पनि सिकाउँछन् तर कहीँ पनि ‘सिर्जना, कला’ जस्तो विषयको पठनपाठन हुँदैन । अथवा शब्द, बिम्बको सहायताले अनि कल्पना र अनुभूतिको सहायताले कुनै कुराको सिर्जना गर्ने कार्य कहीँ पनि सिकाउने परम्परा छैन । सिक्ने प्रावधान पनि छैन । कहीँ कहीँ होलान् तर तिनीहरूले सिर्जना गर्न सिकाउँदैनन् ।
सिर्जना सम्बन्धी यस्ता प्रश्नको उत्तर सिकाउँछन् : सिर्जनात्मक लेखनका अभिलक्षणहरू के के हुन् ? सिर्जनात्मक लेखनका उत्कृष्ट उदाहरण दिनुहोस् । कुन तत्त्वले एउटा सिर्जनालाई सरल, सुसम्बद्ध, आनन्दकर र सुललित बनाउँछ ? केले एउटा सिर्जनालाई दीर्घकालीन, सदा स्मरणीय बनाउँ ? सिर्जनामा नवीनता र प्रयोग भनेको के हो ? समरसेट मम अथवा भर्जिनिया उल्फ अथवा खालिद हुसेनी अथवा शंकर लामिछाने अथवा अरविन्दा आडिगा अथवा पाउलो कोहेलो यीमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ? उदाहरण दिनुहोस् । कत्रो विरोधाभास ! कत्रो अव्यावहारिकता !
कसैले पनि यस्तो ज्ञानले यसरी स्रष्टा होइन्छ भन्ने कुराको ग्यारेन्टी दिन सक्तैन । यस्तो कला सिकाउने धेरै जना अध्यापकहरूले कहिल्यै पनि आफ्नो ज्ञानलाई सिर्जनात्मक ज्ञानमा प्रयोग गर्न सक्तैनन् । यो सिक्ने कुनै पाठशाला छैन । कुनै पाठ छैन । यो ता अन्तरहृदयमा जन्मिएको एउटा कला हो । म ठान्दछु यो सिक्न र प्राप्त गर्न दुवै कुरा सम्भव छ ।
कसैले मलाई सोध्न सक्छन्- त्यसो भए तपाईंले कसरी लेखक बन्ने बाटो रोज्नुभयो होला ? अनि कसरी लेखक बन्नुभयो होला ? म भन्छु— होइन, यो मेरो चयन होइन, यो त समयको हो । म जुन समाजमा हुर्कें, त्यसैबाट मलाई प्राप्त भएको परम्परा हो, यो मेरो परिवारको विरासतको खास गरी मेरा पिताजीको त्यसलाई मैले निरन्तरता दिन खोजेको मात्र हो । सबै कुरा संयोगले र आकस्मिक रूपले भएको हो । मेरो छनोट वा अभिकल्पनाले भएको होइन ।
म सम्झिन्छु— प्रत्येक बिहान र बेलुका मेरा पिताजी लयदार श्लोकहरू गाउनु हुन्थ्यो । यी प्रार्थनाका श्लोकहरू, स्त्रोत्रहरू गाउने बानी थियो । पछिबाट मलाई थाहा भयो ती श्लोकहरू, ती गीतहरू कतिपय प्राचीन ग्रन्थहरूका उद्धरण थिए । खास गरी कविताका संस्कृतमा अथवा नेपालीमा कतिपय त हाम्रै घरमा थिए । कहिलेकाहीँ मिठो मधुर लयमा हामी केटाकेटीलाई पिताजीले गाएर सुनाउनु हुन्थ्यो:
जयतितेदिकम जन्मना ब्रज
श्रयत इन्दिरा शास्वदत्तहि
हामीलाई अर्थ थाहा थिएन । तर पिताजीले भगवान् कृष्णको स्तुति वा प्रशंसामा कुनै विशिष्ट श्लोकहरू गाउँदै हुनुहुन्छ भन्ने बुझ्दथ्यौँ, भागवत गीताका श्लोकहरू भन्ने चिन्दथ्यौँ । श्रद्धा र भक्तिको भावले भरिएर केही नबुझे पनि हामी पिताजीलाई सुन्दथ्यौँ, दैवी आनन्दमा डुबेझैँ गरी उहाँ आँखा चिम्लनु हुन्थ्यो र गाउँदागाउँदै उठेर कहिले नाच्न पनि थाल्नुहुन्थ्यो । सेतो धोती फेरेका पिताजी नाचेको दृश्य अझै पनि सम्झिरहन्छु । उहाँको अर्कै जगत् थियो । कहिलेकाहीँ उहाँ यस्तो भजन गाउनुहुन्थ्यो:
नेपालीले बुझौँ कृष्ण गीताको अर्थको गति
गीतानुवाद गीताको गाना गर्दै यथामति
यो श्लोक कोमल गीताको सुरुमै छ । कोमल गीता भनेको विद्वान् अनुवादक कोमलनाथ अधिकारीले गरेको गीताको भावनुवाद हो । यसको अर्थ छ: हे नेपाली जातिहरू हामीले गीताको अर्थ बुझौँ, भगवान् कृष्णको गीत गाऔं र कोमल गीता गाउने गरौँ ।
कहिलेकाहीँ पिताजी भिन्नै भाषामा पनि गाउनुहुन्थ्यो । मलाई थाहा छैन यो ब्रज हो कि जस्तो लाग्छ ।
जो सही द:ख पर छिद्र दूरावा
बन्दनीय जयै जगदीश पावा
पछि गएर मैले यसको अर्थ केही अनुमान गर्न सक्ने भएँ: जसले आफ्ना दु:ख कष्टहरू सहन गर्दै जगदीशको प्रार्थना गर्दछ, उनैको कृपाले उसका दु:ख कष्टहरू समाप्त हुनेछन् ।
म यस्ता प्रकारका एक सयभन्दा बढी गीत र प्रार्थनाहरू अझै सम्झन्छु । प्रत्येक श्लोक लयात्मक छ । प्रत्येक छन्दमय छ । उहाँले गाउँदा प्रत्येक गायन साङ्गीतिक हुन्थ्यो । उहाँले गाएका कतिपय गीत, वेदका ऋचा र भजनहरू अझै सम्झन्छु, केही गाउन पनि सक्छु तर मलाई कुनै अर्थ लाग्दैन ।
प्रत्येक बिहान र बेलुका पिताजीले कुनै न कुनै गीत अथवा स्त्रोत्र गाउनु हुन्थ्यो, विस्तारै कालान्तरमा ती मेरा पनि भए । ती स्वत: नै मेरो मानसमा पिताजीको सम्पत्तिको रूपमा संचय गराउँदै गएँ होला । मैले तिनीहरूलाई हृदयङ्गम गर्दै गएँ होला; तिनीहरूको महत्व नबुझे पनि म तिनका लयतिर आकर्षित हुँदै गएँ । केवल लय र सङ्गीतले मेरो मानसमा भित्रसम्म छोयो होला । त्यतिमात्र होइन त्यसबेला हामी खेतमा होस्, बारीमा होस्, बनपाखा जङ्गलमा जाँदा, गाई चरन पधेरामा जाँदा, हाटबजारमा जाँदा मानिस गाइरहेको सुन्थ्यौँ । चाडपर्वमा घरमा पनि गाउनु जीवनको अभिन्न रंग थियो । पूर्वी नेपालका ती सुन्दर पर्वतहरूमा सधैँभरि गीत गुन्जिथे । यस्तो अदृश्य लोकशक्तिले मेरो मनको अन्तर तहसम्म छोयो होला, म भन्न सक्तिनँ ।
आज म सम्झिन खोज्दै छु । हामी प्राच्य जगत्का प्रत्येक नागरिकमा गीतप्रति प्रशंसा भाव रहेको छ अझ सांगीतिकताप्रति । हाम्रा आदिपुर्खाहरूले सामवेदबाट सुरु गरेको यो गेयगुण अन्तरहृदयलाई छोएर बसेको छ । चार हजार वर्षअघि सिर्जना भएको सामवेदको अर्थ नै ‘लय र ज्ञान’ भन्ने हुन्छ । अथवा गीतिलयमा ज्ञान सुरक्षित हुन्छ भन्ने सन्देश छ । अनादिकालदेखि ठूलठूला ऋषिमुनिहरूले ती महान् गीतहरू गाउँदै आए अनि यो परम्परा कालान्तरमा आएर लोकगीतमा परिणत भयो ।
सामवेद मन्त्र, प्रार्थना, स्त्रोत्रको रूपमा जीवित रहयो तर विस्तारै यसको अप्रशोधित रूपको प्रतिच्छाया लोकगीतमा रूपान्तरित भयो । सामवेदको अर्थ त्यता रूपान्तरित भएको त होइन त्यो गेयताको तृष्णा परिपूर्ति भएको मात्र हो । यो मेरो व्याख्या हो । हामी किन भाषाको गेयता वा सांगीतिकतातिर आकर्षित हुन्छौँ भन्ने मेरो व्याख्या हो । एक दिन एनड्रिउ क्लिम्यानले जेन आस्टिनका भाषाको प्रशंसा गरेको सुन्दा मलाई लाग्यो, मेरो विश्वास सार्थक रहेछ: म जेन आस्टिनको भाषिक प्रयोगको पनि प्रेमी हुँ— कसरी उनले एउटा पदावली चुन्छिन् र यसलाई विकसित हुने समय प्रदान गर्छिन्, विस्तारै उनका अत्यन्त सुन्दर र जटिल अभिव्यक्तिहरू निर्मित हुँदै जान्छन् र मेरो मनमा ती पुष्पित हुन्छन् । विथोभेनले पनि आफ्नो शब्दचयनमा, उपयुक्त संरचनाको खोजीमा र तिनीहरूको सांगीतिकतामा त्यत्तिकै ध्यान दिन्थे । यो एउटा वास्तविकता नै रहेछ : जेन आस्टिन सांगीतिक हुन् । यिटस् त्यस्तै हुन् । वर्डस्वर्थ पनि त्यस्तै हुन् । सबै महान् स्रष्टाहरू गीतात्मक वा श्रुतिमधुर हुँदा रहेछन् ।
विस्तारै म पनि मेरा पिताजीले गाउने गरेका छन्द र लयलाई कवितामा टिप्न थालेँ । यसको अर्थ के रहेछ भने कविता नै गीत हो; अझ कविता भनेको गीतको उच्चतम रूप हो । कविता रच्ने आरम्भिक प्रयत्नमा मेरो हृदयले ती अनुकरणात्मक पदहरूलाई अस्पष्ट पंक्तिमा लेखाउन थाल्यो । तर ती हाँस उठ्दा भए । ती प्रस्तुत गर्न नहुने जस्ता भए । केही कविता ता मैले विद्यालयस्तरीय प्रतियोगितामा पनि प्रस्तुत गरेँ । तर पनि अनेकपल्ट म निरास हुँदै फर्किन्थेँ । तर मैले कहिल्यै हारिनँ । मैले केही किताव पढिरहेँ र निरन्तररूपले कविताहरू रच्दै गएँ ।
कुनै सफलता हात नलागे पनि म एक्काइस वर्षको हुँदासम्म कविता रचिरहेँ । त्यस उमेरसम्म मैले धेरै कविता रचिसकेको थिएँ । कुनै छन्दमा थिए । अरू कति ता छन्दमुक्त थिए । यसरी म छन्दको बन्धनबाट बाहिर निस्कन पनि बल गर्दै थिएँ तर धेरै सफलता मलाई हात लागेन । आज पनि म राम्ररी छन्द कविता लेख्न सक्छु तर कविता भनेको छन्दका गण र मात्राको गणना भन्दा धेरै गहिरो कुरा रहेछ । मलाई ता यो सबैभन्दा कठिन कर्म लाग्दछ ।
आज म ठान्दछु- प्रत्येक भावी लेखकले सुरुमा कविताबाटै आरम्भ गर्न खोज्दो रहेछ । अनि प्रत्येक महान् स्रष्टाले आफ्नो जीवन कवितामै गएर टुंग्याउँदो रहेछ । कविता सबै सिर्जना विधाहरूमा सबैभन्दा कठिन र सर्वोच्च रहेछ । आरम्भमा कविता लेख्नेले अरूको नक्कल गर्छ, सार्छ अथवा चोर्छ पनि केही नलागे ता कुनै नमुनाहरूलाई सिकेर त्यसैको प्रतिकृति उत्पन्न गर्न खोज्दछ । झलक्क हेर्दा कविता सजिलो लाग्छ अनि उसले त्यसलाई उतार्ने प्रयत्न गर्दछ । कविता एउटा भ्रमजनक कला रहेछ भन्ने कुरा बुझ्न उसलाई धेरै समय लाग्छ । परिणामस्वरूप आफूभित्र शक्ति उत्पन्न नभई त्यस कलालाई पूर्णरूपले आत्मसात नगरी गरिएका कविता कर्महरू केवल अपूर्ण प्रतिध्वनि जस्तो अथवा एउटा पहेली अथवा कुनै तुक्काको अंशजस्तो मात्र लाग्दछ । त्यस्तो स्थितिमा अड्किएपछि न अघि बढने सङ्घर्ष गर्न सकिन्छ, न सदाका लागि त्यागेर पछि हट्न सकिन्छ ।
फेरि अर्कातिर एउटा कविता कसरी सिर्जना गरिन्छ भन्ने कुरा सिकाउने कुनै विद्यालय छैन । विद्यालयमा गएर गण, मात्रा, छन्द अथवा मुक्त रूपहरू पढ्न सकिन्छ । कवितामाथि टिप्पणी वा आलोचना गराउन सकिन्छ । तर वास्तवमा एउटा कविता कसरी उत्पन्न हुन्छ, कसरी त्यो शक्ति प्रकट हुन्छ भन्ने कुरा अनुभव गर्नेले बाहेक कसैले गर्न सक्दैन । यो एक प्रकारको आत्मानुभूति हो र यसलाई पूर्णरूपमा कसैले ग्रहण गर्न सक्तैन ।
मैले यस्तै देउता चढेका बेला यदाकदा कविता रचेँ । सबै गरेर १०० जति पुगे होलान् । अझ मैले आफ्नो यौवनकालमा धेरै प्रेम कविता लेखेँ । पछि गएर केही व्यङ्ग्यात्मक पनि लेखेँ, कति गम्भीर कविता पनि लेखेँ । कति उदात्त विचारका पनि लेखेँ तर आजसम्म करिब एक दर्जनमात्रै प्रकाशित छन् । ठूलाठूला कविताहरूसँग तुलना गर्दा मेरा अति सामान्य लाग्दछन् र प्रत्येक पटक म आफ्ना सिर्जनादेखि अलि लज्जित पनि हुन्छु ।
यसले मलाई के धारणा दिएको छ भने स्रष्टामध्ये कविहरू सर्वोच्च श्रेणीमा पर्दछन् । किनभने कविता रच्ने निरन्तर प्रयत्न गर्दागर्दै उनीहरूका कविता पठनीय मानिने बेलासम्ममा जीवनको ठूलो भाग समाप्त भइसकेको हुन्छ । समुद्रमा डुबेको हिमशैलको अंश जस्तै धेरै जीवन बितिसकेको हुन्छ । त्यसैले गर्दा मजस्ता कतिपय कविहरू धेरै नै व्यर्थपदार्थ छोडेर लेखनको दृश्यबाट पलायन हुन्छन् । त्यसैले आफूभित्रको लेखक कहाँ गएर उपयुक्त स्थान भेट्दछ भन्ने सकिँदैन ।
त्यसदेखि यता मैले कविता क्षेत्रलाई परित्याग गरेँ र अर्को विधा पक्रिएँ, त्यो थियो उपन्यास । मैले २०३१ सालमा ‘मुगलान’ लेखेँ, त्यो थियो मेरो पहिलो उपन्यास । त्यो केवल सात दिनको प्रयत्नले पूरा गरेँ । यसलाई छपाएँ, अनेकौँ संस्करण आए, त्यसपछि अरू गद्य सिर्जना गर्दै गएँ तर म अझै भन्न सक्तिनँ— मैले कसरी त्यस्तो कृति रचेँ होला जसको आजसम्म पनि अत्यधिक प्रशंसा भइरहेको छ । मेरो लेखकीय जीवनको प्रक्षेपपथ भन्नु नै क्रमश: आख्यान, निबन्ध र समालोचनाले निर्मित छ । कहिलेकाहीँ त्यसमाथि कविताको फूलपाती पनि चढाएको छु । यद्यपि कुनै कविता कृति छापिएको छैन । यसरी सिर्जनात्मक विश्वमा धेरै ठाउँमा प्रवेशद्वारा छन् र निर्गमनद्वार पनि छन् । कुनै एउटा छाने हुन्छ अथवा अर्को छाने हुन्छ । कविताको प्रवेशद्वार छ अथवा निबन्धको छ अथवा आख्यानको अथवा नाटकको अनि समालोचनाको ।
मेरो अनुभवले भन्छ- कवितामा असफल भइयो भने निबन्धमा, निबन्धमा असफल भइयो भने आख्यानमा, दुवैमा असफल भए नाटकमा र सबैतिर असफल भइए समालोचनामा लाग्दछन् । समालोचना सबैभन्दा सजिलो छ । धेरैको निमित्त समालोचना पहिलो प्राथमिकतामा पर्दछ । किनभने उनीहरूलाई अर्थोक आउँदैन, अरू धेरैको निमित्त समालोचना अन्तिम उपाय हुन जान्छ । किनभने उनीहरूलाई अरूथोक आउँछ । एउटा समालोचक राम्रो प्रकारको उपदेशक हुन सक्छ । तर मेरा लागि ऊ चाहिँ स्रष्टा, लेखक हुन सक्तैन ।
प्रत्येक स्रष्टा स्वनिर्मित व्यक्तित्त्व हो । स्वाध्यायनले बनेको शिष्य हो, स्वनिर्मित कलाकार पनि हो । म आफ्नै अनुभवद्वारा भन्दछु आफ्नै प्रयत्नले मात्रै, लामो समयको निरन्तर साधना र प्रयत्नले मात्रै अविछिन्न रूपमा संकलित अनुभव र ज्ञानका अंशहरूको संयोगले मात्रै कुनै व्यक्ति स्रष्टा बन्न सक्छ । त्यसमाथि पनि एउटा प्रधान सर्त के छ भने उसले कहिल्यै पनि हारेर, गलेर यसलाई परित्याग गर्नु भएन । हाम्रो जस्तो समाजको परिप्रेक्ष्यमा कुनै भौतिक उपलब्धिको अपेक्षा राख्नु भएन र उसले सधौ यो जगत्को रहस्य खोल्ने इच्छा निरन्तर राख्नुपर्दछ । यो महान् सृष्टिको रहस्यलाई बुझ्ने प्रयत्न निरन्तर राख्नुपर्दछ ।
सिर्जना भन्नु नै सृष्टिको रहस्य फुकाउन खोज्ने प्रयत्न हो । सिर्जना भनेको नै यो ब्रहमाण्डमा मानव जातिको स्थान पत्ता लगाउन खोज्ने संघर्षको मार्ग हो । त्यसैले अधिक भौतिकतामा विश्वास गर्नेहरू अथवा विज्ञानले देखाएको विश्वको आवरणलाई ज्ञानको अन्तिमस्वरूप ठान्नेहरू कहिल्यै महान् स्रष्टा भएनन् र ती हुन पनि सक्ने छैनन् । स्रष्टाको निमित्त विश्वासको अर्कै मार्ग छ ।
केले एउटा सिर्जनालाई उत्कृष्टता प्रदान गर्दछ ? वास्तवमा यो एकै तत्त्वले बनेको छैन । उत्कृष्ट लेखन अनेक तत्त्वको संयोजन हो । कुनै पनि पुस्तकले उत्कृष्ट सिर्जनाका लागि कुन तत्त्वहरू कहाँबाट चयन गर्ने, कुन उद्देश्यको लागि के छान्नु, ती तत्त्वको कसरी मापन गर्नु, तिनीहरूको कसरी समानुपातिक वितरण गर्नु र एउटा स्वादिलो तरकारीमा कसरी उपयुक्ततापूर्वक मरमसलाको मिश्रण गर्नु भन्ने कुरा झैँ कही लेखेको छैन । सिर्जना व्यक्तिगत शिल्पको परिणाम हो । यसमा स्रष्टाको अनुभूति, त्यो कर्मको कला अनि सर्वोपरिता, धैर्य र अध्यवसाय चाहिन्छ । यिनै तत्त्वले स्रष्टालाई उत्कृष्टतामा पुर्याउँछ ।
सिर्जनात्मक लेखन यस्तो कुरा हो । यो सम्पूर्ण रूपले व्यक्तिगत चयनको कुरा हो । यिनै कारक तत्त्वले गर्दा सयौँ अथवा हजारौँ कविताहरू भए पनि प्रत्येक अर्कोभन्दा भिन्दै हुन्छ, हजारौँ आख्यानहरू भिन्नाभिन्नै हुन्छन् यी त प्रत्येक स्रष्टाले छान्ने विषयवस्तु उनै हुन्छन्— प्रेमको अथवा वियोगको अथवा युद्धको अथवा विद्रोहको अथवा द्वन्द्वको । अझै, निरासाको होला अथवा मृत्युको होला अथवा यस्ता अनन्त विषयमध्ये कुनै एउटा होला । सबै त मानवले भोगेका, मानव संसारका, मानवकल्पित कुरा नै हुन् । तर तिनै कुरा लेख्दा पनि प्रत्येक सिर्जना मौलिक र अलग्गै हुन्छ । यसरी सिर्जनात्मक शक्ति विषयपरक हुन्छ कला वस्तुपरक हुँदैन ।
यस्ता सिर्जनाको महत्व के होला ? कतिले भन्ने गर्दछन्- कलाले जीवनलाई पुन:सिर्जित गर्दछ: यसको सहायताले मानिसले प्राप्त गर्न सकेका कुरा र प्राप्त गर्न नसकेका कुराहरूको प्रस्तुति हुन्छ यस्तो पनि भन्दछन् । त्यसैकारण यो मानिसका भग्न सपनाहरूको र अपूर्ण इच्छाहरूको प्रतिच्छाया हो । वास्तवमा अतीतले व्यक्तिगत इच्छा, सपना, आकांक्षाहरूको पुनरुत्पादन गर्न सिकाएको थियो तर आज समय परिवर्तित छ । व्यक्ति होइन, समाज केन्द्रमा उभिएको छ । समुदाय छ, जातीयता छ, आआफ्ना पहिचानहरू छन् त्यसैले आजका कति सिर्जनामा आफ्ना जातीय स्मृति र जनजातीय पहिचानहरू पनि पुनरुत्पादित छन् । एउटा सानो उदाहरण हेरौँ : प्रत्येक वर्ष २७ मार्चमा आयोजना हुने अन्तर्राष्ट्रिय कविता दिवसले मानिसहरूलाई कसरी चीरनिद्राबाट ब्यूँझाउन थालेको छ । अहिलेको समाजमा प्रत्येक व्यक्तिले आफ्नै पहिचान खोजिरहेको समय छ । यसैले उसलाई अधिक शक्तिको आवश्यक पर्छ । यस्तो बेलामा उनीहरू कविताको हतियारले शक्तिउत्पादन गर्न चाहन्छन् । एउटा महान् कविताले स्वतन्त्रताको निमित्त लडदछ । पहिचान र अस्तित्वका लागि युद्ध गर्छ । यस्तो युद्धले नै मानिसको जीवन सुनिश्चित गर्दछ ।
कतिले प्रश्न गर्ने गर्दछन्- कुन भाषामा सिर्जना गर्ने होला ? म भन्छु— यो केवल राजनीतिको कुरा हो । एउटा साहित्यिक सिर्जनाका निमित्त हृदयभन्दा परको कुनै भाषा हुँदैन । यसले मानवताको विश्वव्यापी भाषामा लेख्दछ । स्यामुअल जोन्सनले भनेका छन्— ‘भाषा भनेको विचारको आभूषण हो; त्यसले केही लुकाउँछ, केही देखाउँछ पनि ।’ यसबेला म बीसौँ शताब्दीका महान् स्रष्टा, अङ्ग्रेजी निबन्धकार विलियम हयाज्लिटका केही शब्द उद्धृत गर्दछु: ‘कविता भनेको विश्वव्यापी भाषा हो । यसलाई हृदयले छोएर प्रकृतिलाई र आफैँलाई प्रस्तुत गर्दछ । जो कविताप्रति उपेक्षाभाव राख्तछ, त्यो व्यक्तिले आफैँलाई सम्मान गर्न सक्दैन, अन्य कुनै कुराको सम्मान गर्न सक्दैन ।
कसैले प्रस्न सोध्दछन्: म कुन भाषामा कविता रचौँ ? म भन्ने गर्छु, शब्दमा अथवा बिम्बमा अथवा पत्थरमा, काष्ठमा, मृतिकामा अथवा तपाईंका स्वरयन्त्रीमा, रंगमा वा नृत्यमय पदचापमा । तपाईंका प्रत्येक कर्मले सिर्जना गर्न सक्दछन् जस्तो कि भगवान् शिवका निम्ति गाइने प्रार्थनाको एउटा अंश छ— यत्यत् कर्म करोमी तत्तदखिलम् सम्भोतबाराधनम् अर्थात् म जुनसुकै क्रियाकर्म गरौँ, हे प्रभु, म हिँडौँ अथवा सुतौँ, खाऊँ अथवा नाचुँ अथवा केवल बोलिरहुँ, ती सारा हजुरकै आराधनाका स्वरूप हुन् ।
यो सुन्दा ज्यादै अस्पष्ट लाग्ला; सिर्जनाको भाषा कसरी असीम रहेछ भन्ने पनि लाग्ला तर सिर्जना यसरी अनेक रूपमा नै प्रतिपल प्रकट भइरहेको हुन्छ । यसका अतिरिक्त नेपालका विविध भाषा र संस्कृतिहरूमा पनि निरन्तर सिर्जना भइरहेका छन् । त्यहाँ भन्दा टाढा गएर सिर्जनाका लागि कसैले अङ्ग्रेजी भाषालाई पनि माध्यम बनाएका छन् । नेपालमा सिर्जनाको माध्यम भएर अङ्ग्रेजी आएको त भर्खरै हो तर यतिखेर यो बढिरहेको छ ।
गाउने हृदय नब्यूँझी सिर्जना आरम्भ हुँदैन । गाउनुको तात्पर्य स्वरको आरोह अवरोह होइन; यसको तात्पर्य हृदयले प्रकृतिको लय सुन्नु हो, मानव चेतनाको आदिम गुणतिर आकर्षित हुनु अथवा सृष्टिको रहस्यतिर हृदय फर्किनु हो । सबै कुरा लयमा छ, सबै कुरा लयमा छ ।