सुनसरी, ५ जेठ । खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा इटहरी उपमहानगरपालिका(७ बस्ने ३१ वर्षीय बाबुलाल सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा बाबुलालले छिमेकी २२ वर्षीय मनुवा सदालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्रामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । गम्भीर घाइते मनुवालाई उपचारको लागि धरान घोपातर्फ लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।