काठमाडौं, ७ जेठ । बहुमतको प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गरेका छन् । दाबीमा एमालेका तर्फबाट ओली र जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले संयुक्त हस्ताक्षर गरेको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
रिमालले एमालेका १२१ र जसपाको ३२ गरी १५३ सांसदको समर्थन ओलीलाई रहेको उल्लेख गरेका छन् ।
रोचक पक्ष यो छ कि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमाले र जसपाको सांसदहरुको हस्ताक्षर पुगेर बहुमत सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीको दाबी पत्र बुझाउन राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४९ प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका हुन् ।