काठमाडौं, जेठ ८ । सरकारले ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको शीघ्र जाँचपास कार्यविधि–२०७८’ तयार गरेको छ ।
कोभिड महामारी रोकथामका लागि प्रयोग हुने सामग्रीलाई प्राथमिकतामा राख्न कार्यविधि तयार पारिएको हो । सरकारले कोभिड रोकथामसम्बन्धी सामग्री आयातमा महसुल छुट दिने निर्णय गरिसकेको छ । आयातका क्रममा जाँचपास सजिलो बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो ।
कार्यविधिमा अक्सिजन, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, लिक्विड अक्सिजन कन्टेनर, अक्सिजन सिलिन्डर भल्ब, आईसीयू मोनिटर, बेड, रेम्डेसिभिरलगायतलाई अत्यावश्यक सूचीमा राखिएको छ ।
यीबाहेक सरकारले तोकेका कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित अन्य मालवस्तु पनि उच्च प्राथमिकतामा रहेको कार्यविधिमा उल्लेख छ । कार्यविधिअनुसार जाँचपासका क्रममा देखिएका समस्या समाधान गरी आवश्यक सहजीकरण गर्न विभागकै उपमहानिर्देशकको संयोजकत्वमा द्रुत कार्यदल गठन हुने उल्लेख छ । कान्तिपुर दैनिकबाट