Logo

गोदामको मौज्दात चामल सकियो, कोल्टी र कवाडीमा चामल यथावत्



– प्रेम रौले मार्तडी, ८ जेठ: कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ ।

महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताउनुभयो । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामलसमेत सकिएको प्रमुख ओझाले जानकारी दिनुभयो ।

खाद्यमा चामल सकिएको दुुई दिन भएको र अहिले बिक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गर्नुभयो । जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामलमात्र रहेको र सर्वसाधारणलाई बिक्री गर्न मौज्दात चामल नभएको उहाँ बताउनुहुन्छ ।

सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ । साँफे–मार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले राससलाई जानकारी दिनुभयो ।

खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ । संस्थानले मोटो चामल प्रतिकिलो रु ४५ र जिरा मसिनो प्रतिकिलो रु ६६ मा बिक्री गर्दै आइरहेको थियो ।

कोल्टी र कवाडीमा चामल यथावत्

जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत् रहेको शाखाले जनाएको छ । कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल बिक्री नभएको शाखाप्रमुख नवीन आचार्यले बताउनुभयो ।

निषेधाज्ञामा चामल अभाव नहुने आचार्यको भनाइ छ । अहिले एक हजार १०० क्विन्टल यथावत् छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले जानकारी दिनुभयो ।

यस्तै हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखाप्रमुख आचार्यले बताउनुभयो । कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउनुहुन्छ ।

खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन् । खुलेआम कालोबजारीभन्दा पनि व्यापारीले अघोषितरुपमा चामलमात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनुभयो । उहाँले कालोबजारी गरेको नभेटिएको उजूरी नआएकोे भए पनि बजारमा खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिकरुपमा जानकारी आउने गरेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्यभन्दा बढी मूल्य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्