काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिई प्रतिनिधि सभा विघटनको कदमविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । हिजो विपक्षी गठबन्धनबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका १४९ तत्कालीन सांसदहरुको हस्ताक्षर जुटाउन समय लागेकाले आज रिट दायर हुने भएको हो ।
सांसदहरुको नागरिकतालगायत विवरण संकलनमा समय लागेकोले आज रिट दायर हुने काँग्रेस नेता रमेश लेखकले बताए । नेकपा एमालेका २७ हस्ताक्षरकर्तामध्ये हिजो २० जनाले मात्र उपस्थिति जनाएर हस्ताक्षर गरेका थिए । जनता समाजवादी पार्टीका पनि सबै सांसद उपस्थित भएनन् ।
७ जेठमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै १४९ तत्कालीन सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाइएको थियो । तर, त्यस अगावै प्रधानमन्त्री ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको साथ रहेको पत्र राष्ट्रपति कार्यालयमा बुझाएका थिए । त्यसपछि राष्ट्रपतिले दुवैको दाबी नपुगेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिई सरकारको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी चुनाव घोषणा गरेकी थिइन् ।