सदगुरु जग्गी वासुदेव :पूर्वीय यौगिक सोचअनुसार मानव मनका १६ आयाम हुन्छन् । बुझ्न सजिलो होस् भनेर यिनलाई ४ किसिममा विभक्त गरिन्छः १) बुद्धि (Intellect) २) मानस (Brain) ३) अहङ्कार (Identity) र ४) चित्त (Intelligence)।
१) बुद्धि– बुद्धि तर्क र प्रमाणमा मात्र विश्वास गर्दछ । त्यसैले हरेक कुरालाई चिरफार गरेर, खोजतलास गरेर सप्रमाण पत्ता लगाएपछि मात्र ‘ठीक’ या ‘बेठीक’ भन्छ । यतिसम्म कि आमाको माया कस्तो छ ?भन्ने कुरा सप्रमाण पत्ता लगाएर मात्र विश्वास गर्नका लागि आमालाई काटेर, चिरफार गरेर, आमाको मुटु–कलेजोका अणु–अणुमाको विश्लेषण (पञ्चेन्द्रियहरूले आपूर्ति गरेका तथ्याङ्कका आधारमा) गरेर ‘आमाको माया’ को अनुसन्धान गर्ने प्रोजेक्ट चलाउँला झैँ गर्छ । संसारमा यही बुद्धिले शासन गर्दै आएको छ र अन्य पक्षहरू गौण मानिएका छन् । अफसोचको कुरा ‘बुद्धिमान’ लाई नै सबैले ‘ठूलो’ मान्छे ठानिरहेछन् । जुन सत्य होइन । किनभने ‘बुद्धि’ले त शिक्षा प्रणालीले, गुरु या समाजले, अध्ययनले जम्मा गरिदिएका सूचना–तथ्याङ्कहरू खेलाएर, पुनः जोडजाड, विश्लेषण गरेर निचोड सुनाउँदै अरूलाई ‘हो कि क्या हो ?’ भन्नेमात्र पार्छ ।
अर्थात्, बुद्धि खप्परको सन्दुसमा राखिएको ‘तथ्याङ्क’ले सङ्केत गरेको भन्दा ठूलो संसार हेर्न वा देख्न नसक्ने हुन्छ । अहिलेका मानिसहरू यही ‘बुद्धि’अनुसार मात्र चल्ने भएर नै गडबढ भएको छ । जब कि मनका अनेक आयामहरूमध्ये ‘बुद्धि’ केवल एउटा आयाम हो । मानिसले मनका अरू आयाम पनि जानी–नजानी थोरबहुत उपयोग गरिरहेका हुन्छन् तर सचेनतापूर्वक सबै आयामहरूको उपयोग भएको छैन । यही भएर मानव शक्तिको १० प्रतिशत पनि उपयोग भएको छैन भनिन्छ । किनभने मानिसलाई ९० प्रतिशतभन्दा बढी केवल ‘बुद्धि’ चलाउन तालिम दिँदै ल्याइयो । जसले गर्दा उनीहरू अरूलाई झुक्याउने, छलछाम गर्ने, उल्लु बनाउने, आफू माथि पुग्ने आदि काममा त चतुर देखिएका छन् तर तिनलाई आफ्नै ‘जीवन’को अर्थ थाहा छैन ।
यतिसम्म कि घरको आफ्नै कोठामा, घरको आँगन–सिकुवामा र समाजमा कसरी शान्तिपूर्वक ‘आफू’ बाँच्ने भन्नेबारे पनि तिनीहरू प्रष्ट छैनन् । परिणामस्वरूप काकतालीका भरमा काम गरिरहेछन् र त्यसैलाई ‘सफलता’ ठानिरहेछन् । अर्थात्, उनीहरू संसार (कुनै न कुनै किसिमले) चलाउन जान्ने तर आफूभित्रैको मन, ऊर्जा, संवेदना र आफ्नै शरीरलाई कसरी सञ्चालन गर्नेबारे थाहा नभएको देखिन्छ ।
मानिसलाई ‘फिट’ रहनू भन्यो, सुन्दैन । स्वाभाविक रूपमा जिउनोस् भन्यो, पुटुस्सै भुँडी पाल्छ । यही हो बुद्धि मात्रको काम । ‘चित्त शुद्धि’ छैन । बुद्धिले ‘तर्क’ गर्दा ‘तुलना’ गर्ने विधि पनि अपनाउँछ । उदाहरणका लागि यो संसारमा तिमी एक्लै छौ भने ‘तिमी’ नै ‘महान्’ कि ‘तुच्छ’ कसरी थाहा पाउने ? तर केही मूर्ख या बुद्धुहरूको बीचमा बसे त उनको ‘तुलना’ मा आफूलाई ‘महान्’ ठान्ने आधार मिल्ने भयो । बस् । बुद्धिले यही चातुर्य–चटक गरेर झुक्याउँछ ।
२) मानस– यसका पनि थुप्रै तह हुन्छन् । यो सिर्फ आँखाले देखिने ‘सेतो गिदी’ मात्र होइन । वास्तवमा यो शरीरका तन्तु–तन्तुमा व्याप्त हुन्छ । यसको स्मरण शक्ति असाधारण किसिमको हुन्छ । यसले अहिलेको मात्र होइन, लाखौँ वर्ष पुरानो कुरा पनि सम्झन सक्छ । जस्तैः तपाईंका पिता–पुर्खा लाखौँ वर्षअघि कस्ता थिए ? बुद्धिले भन्न सक्दैन तर यसबारे तपाईंको तन्तु–तन्तुले भने भनिरहेको हुन्छ । तपाईंको आँखा, नाक, मुख, उचाइ, आँखीभौँ, चौडाइ, केश, केशको रङ र आकार–प्रकार, दाह्री, जुँगा, दाँतको आकार–प्रकार, हड्डीका लम्बाइ जाँचिहेर्ने हो भने तपाईंका पितापुर्खा कस्ता थिए भनेर तिनले भन्छन् । अझ डीएनए जाँच गरेपछि त ठ्याक्कै (विज्ञानले) भन्न सक्छ । यही शरीरभरि छरिएर बसेको स्मरण गर्न सक्ने कोषहरूलाई ‘मनोमय कोष’ भनिन्छ । शरीरको हरेक सेलहरूमा ‘स्मरण’ र ‘चित्त’ हुन्छ तर ‘बुद्धि’ हुँदैन । मानसमा बुद्धि हुन्छ । पाश्चात्य मुलुकमा चलेको ‘माइन्ड’ शब्दले ‘मन’ का सबै आयामहरू समेट्दैन ।
३) अहङ्कार– पाश्चात्य मुलुकमा ‘अहङ्कार’ लाई ‘इगो’ भनी अनुवाद गरे पनि त्यो मिल्दैन । अहङ्कार भनेको ‘पहिचान भाव’ (Sense of identity) हो । मानिसको ‘बुद्धि’ ‘अहङ्कार’सँग सीधै जोडिएको हुन्छ । अहङ्कारले नै पहिचान दिन्छ र ‘मै हुँ’ भावना मानिसमा जगाउँछ । यो भएन भने मानिस पहिचानविहीन र सबैले हेप्ने जन्तुमा परिणत हुन्छ । जब ‘अहङ्कार’ सक्रिय हुन्छ तबमात्र ‘बुद्धि’ ले काम गर्न थाल्छ । किनभने ‘बुद्धि’ अहङ्कारको ‘दास’ हो । हाम्रो अहङ्कार कुनै मुलुकमा, समाजमा या कुनै पनि ठाउँमा बाँच्न (Survival) का निम्ति नभई हुन्न । तर अहङ्कारले मात्र अघि बढ्दै र प्रगति–उन्नति गर्दै जान सकिन्नँ किनभने खप्पर (Brain Box) मा (पाँच इन्द्रियहरूले) हालिदिएको सीमित तथ्याङ्कका आधारमा चल्ने ‘बुद्धि’ को सहारामा मात्र ‘अहङ्कार’ चलायमान हुन्छ ।
यसरी ‘अहङ्कार’ले अह्राएजस्तो मात्र ‘बुद्धि’ ले काम गर्दा नै ‘अराजकता’, समाजविरोधी (Anti-Social) गतिविधि र ‘आतङ्कवाद’हरू जन्मिने हुन् । मानव सभ्यता विकसित हुँदै आउने क्रममा ‘अहङ्कार’लगायत मानवका अन्य मन–ऊर्जाहरू समेत सञ्चालन गरेर एकापसमा ‘द्वन्द्व र सहअस्तित्व’ (Conflict and Co-existence) अपनाउँदै यहाँसम्म आइपुग्न सम्भव भएको हो ।
४) चित्त— चित्तको स्मरण गर्ने क्षमता हुन्न । यो सिर्फ चित्त हो । ब्रह्माण्डजस्तो जोडदार अस्तित्वसहित उपस्थित छ यो मनको आयाम । यो छ र नै सबथोक हुन्छ । यो ‘स्मरण’ को आधारमा चल्ने हुँदैन तर आफ्नै किसिमले चल्छ । बुद्धि अनुसार होइन यो, चित्त चित्तजस्तै चल्छ । चित्त मनको सबैभन्दा अन्तिम बिन्दु हो । यो जिउँदो–जाग्दो हुन्छ र यो नै मानवलाई रचना (Creation) र चेतना (Consciousness) सँग जोड्ने आधार बन्छ । चित्त २४ घण्टै (मानिस सुते पनि जागे पनि) जाग्राम हुन्छ । बुद्धि त चाहिएको बेला आउँछ र जान्छ । मानिस जागिरहेको भए पनि बुद्धि फेल हुन सक्छ । तर, चित्त निभ्यो भने मानिस जिवित रहन्न । चित्तले नै मानिस जिउँदो भएको प्रमाण दिन्छ, मानिसलाई सधैँ केही न केही गर्न उचाल्छ र जीवनलाई वास्तविक ‘जीवन’ बनाउँछ ।
यही ‘चित्त बुझे’पछि नै मानिसले आफ्ना सारा ऊर्जाहरूलाई जोडेर–संयोजन एकोहोर्याएर परिचालन गर्छ । परिणामस्वरूप कुनै पनि कुरा हासिल गर्न मानिस लागिपर्छ र हासिल गरिछाड्छ । सफल मानिसको रहस्य पनि यही हो । ‘चित्त’ बुझेमात्र कुनै पनि काम गर्ने, नत्र नगर्ने गरे जसले पनि आफूले ‘ताकेको’ वा चिताएको पुग्छ । मन्दिरहरूमा वा पूजास्थलमा मानिसले ‘वर’ माग्ने वा ‘योगा’ गर्ने वा ‘ध्यान’ गर्ने पनि (कतै अलमल नगरी) एकोहोरो हुनको निम्ति यही ‘चित्त’ लाई गरिने तालिम हो ।
५) दैव नै कमारो (The Devine Enslave)– मनभित्रको ‘चित्त’ लाई एकोहोर्याउनका निम्ति ‘ईश्वर प्रानिध्यान’ (ईश्वरलाई समेत सेवक बनाउने) योग गर्नुपर्छ भनिन्छ । यो योग गरे ईश्वरलाई समेत आफ्नो निम्ति भनेजस्तो कामहरू गर्ने कमारो बनाउन सकिन्छ । यसैले योगी–ध्यानीहरू भन्ने गर्छन्— ‘शिव मेरो कमारो हो । मेरा निम्ति शिवले सबथोक गरिदिन्छ, जुटाइदिन्छ ।’
हुन पनि योगी–ध्यानीहरूसँग केही हुँदैन तर चाहिएको पाएकै हुन्छन् । अर्थात्, चित्तले जे चाहेको छ, जीवनमा त्यो पक्कै हासिल हुन्छ । किनभने चित्त बुझेपछि मानिसभित्र निहित सारा ‘शक्ति’ ‘ऊर्जा’ त्यही चाहेको कुरा हासिल गर्न केन्द्रित हुन्छन् । त्यसैले ‘चित्त’ नै बुद्धि, मानस र अहङ्कारभन्दा माथि, कुनै पनि सोच–विचारहरूभन्दा बलियो, कुनै पनि विभाजनहरूभन्दा पूर्णता भएको सर्वशक्तिमान ऊर्जा हो । यो हरेक मानवभित्रै हुन्छ । जसले हरेक क्षण घटनाहरू घटाउने र कामहरू गराउने गरिरहेको हुन्छ । यसलाई आफूले भनेजस्तो किसिमले परिचालन मात्र गर्न जान्नुपर्छ । आज जो–जसले जस्तो जीवन बाँचेको छ त्यो (भित्र) चित्तको तहमा उसले आफैँले चाहेरै हासिल गरेको जीवन हो ।
सङ्कलकः राजनप्रसाद प्याकुरेल