काठमाडौं, ११ जेठ । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा हालसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ लाख १ हजार २ सय ६४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । तीमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरेको प्रहरीले जनाएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने हालसम्म २२ हजार ५ सय ३७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ लाख १५ हजार ५ सय २९ रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ लाख ६ हजार २ सय ६८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर गरिएका ८ हजार ९ सय ११ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत हालसम्म १३ लाख ७३ हजार ६० जनालाई सचेत गराइएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ हजार ३९ जना प्रहरी कर्मचारीहरु परिचालित भएका छन् ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।