काठमाडौं, ११ जेठ । शुक्रबारका लागि पेशी तोकिएबमोजिम प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाई संवैधानिक इजलासमा हुने भएको छ । निकै महत्वको हुने यसपटकको इजलासमा को को पर्लान् चासोको विषय बनेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधि सभा विघटन गराउने कदमविरुद्धको रिटमाथि पनि संवैधानिक इजलासले किनारा लगाएको थियो । ११ फागुनमा किनारा लगाएको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी थिए ।
संविधानको धारा १३७ को उपधारा ३ मा ‘कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा’ संवैधानिक इजलासले हेर्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । संवैधानिक इजलासबाट सुनुवाइ भई प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश दिने–नदिनेसम्बन्धी निर्णय हुनेछ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य न्यायाधीश रहने प्रावधान छ ।
यसपटक प्रधानन्यायाधीश राणाले अघिल्लो पटकको इजलासमा परेका अनिल सिन्हा र विश्वम्भर श्रेष्ठलाई तोक्ने सम्भावना बलियो छ । अघिल्लो इजलासमा तेजबहादुर केसी पनि थिए । वरिष्ठताका आधारमा दिपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसीलगायत रहेका छन् ।
विगतमा दिपक कार्की र मीरा खड्कालाई इजलासमा तोकिएको थिएन । हरिकृष्ण कार्कीको विषयमा विवाद भएपछि उनले छाडेका थिए । त्यसपछि सपना मल्ल प्रधानको इन्ट्रि भएको थियो ।-फाइल तस्बिरः रिपोर्टर्स नेपाल