काठमाडौं, ११ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजपनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुनेबारे छलफल भएको हो ।
पछिल्लो समय जसपाको ठाकुर पक्ष सरकारमा जाने अन्तिम तयारीमा जुटेको छ । यसको लागि को को सरकारमा जाने भनेर नाम टुँगो लगाउने काम भैरहेको छ। सुरुमा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने तयारी यो पक्षले गरेको थियो । तर, महतोले गृहमन्त्रालय मागेको र ओलीले महतोलाई गृह नदिने अडान लिएपछि ठाकुरले अनिल झा वा शरदसिंह भण्डारीमध्ये एकलाई जसपाबाट सरकारको नेतृत्व गरेर पठाउन लागेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना माग सम्बोधन गरेको भन्दै जसपाको ठाकुर पक्षले मधेशमा खुशियाली नै मनाएको छ । कतिपय ठाउँमा दिपावली भएका छन् । जसपाबाट सरकारमा जानको लागि थुप्रै नेता आकांक्षी छन् । झा र भण्डारीको अलावा राजकिशोर यादव, विमलप्रसाद श्रीवास्तव, चन्दा चौधरीलगायतको नाम चर्चामा छ ।
तर, जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ओली सरकारमा सहभागी भए पार्टीबाट निश्काषित गरिने चेतावनी दिएका छन् । उनले हालै पार्टीको कार्यकारिणी समितिको बैठक राखेर यस्तो निर्णय गराएका छन् । जसपाको सर्वोच्च निकाय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत रहेको छ ।
FILE PHOTO/ReportersNepal