Logo

सरकारले महामारीको आडमा राजनीति गर्न खोजेको काँग्रेसको आरोप



काठमाडौँ, १२ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले कोभिड–१९ महामारीको आडमा राजनीति गर्न खोजेको आरोप लगाएको छ ।

सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोभिड–१९ संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही जेठ ६ गते १५ बुदे सुझावपत्र बुझाएको थियो । बैठकले सो सुझाव कार्यान्वयनमा सरकारले गम्भीर रुपमा चासो नदेखाएको भन्दै पुनः ध्यानाकर्षण गराएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकले आवश्यकताअनुसार श्यया, अक्सिजन, आइसियु र भेन्टिलेटरसहितको अस्पताल र आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न, सबै जनतालाई सहज रुपमा तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, कन्ट्याक्ट टे«सिङको आधारमा बढी भन्दा बढी पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेता खड्काले लम्बिदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारीलगायतलाई उचित राहतको व्यवस्था गर्न, स्थानीय तहलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु¥याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्नेलगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्