Logo

वीरगञ्ज भन्सारबाट वैदेशिक व्यापार ७३ अर्ब बढ्यो



वीरगञ्ज, जेठ १३ । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७७र७८ को १० महीनामा वैदेशिक व्यापारमा ७३ अर्ब ३० करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । चालू आवको वैशाखसम्ममा उक्त भन्सार हुँदै ४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । यो परिमाण गत आवको सोही अवधिको तुलनामा करीब २० प्रतिशत बढी हो । गत आवको समीक्षा अवधिमा ३ खर्ब ८० अर्ब रुपैयाँको वस्तु आयात निर्यात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ ।

चालू आवमा सो भन्सार हुँदै ४ खर्ब १५ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने करीब ३८ अर्ब रुपैयाँको मात्रै भएको छ । गत वर्षको १० महीना अवधिको तुलनामा यस वर्ष आयात १८ प्रतिशतले बढ्दा निर्यातमा भने ४० प्रतिशतको वृद्धि भएको देखिएको छ ।

गत आवको १० महीनामा ३ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । २७ अर्ब १५ करोड रुपैयाँ बराबरको निर्यात व्यापार भएको भन्सारले बताएको छ । सबैभन्दा बढी व्यापार भारतसँग भएको छ । यस्तै दोस्रो ठूलो व्यापार साझेदार चीन रहेको भन्सारको तथ्यांकले देखाउँछ ।

चालू आवको साउनदेखि वैशाखसम्ममा भारतसँग ३ खर्ब रुपैयाँको व्यापार भएको छ । सोही अवधिमा चीनसँग भने ३७ अर्ब रुपैयाँको मात्र व्यापार हुन सकेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्