Logo

कर्णाली करिडोरः चट्टानी भीरपछिको सफलता



काठमाडौं, जेठ १४ । एघारवटा जटिल भीर पार गर्दै पाँच वर्षमा कर्णाली करिडोर हुम्ला पुगेको छ । यो पाँच वर्षको पछिल्लो वर्ष कोरोना महामारी हुँदाहुँदै पनि विकास कामले तीव्रता पाएको छ । असजिला र बढी चट्टानी भाग कोरोनाकालमै चिर्न सफलता प्राप्त भएको छ ।

हुम्लाको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ल अपत्यारिला भीरबाट हुम्लामा सडक पुगेको कुरा सपनाजस्तो लागेको बताउन्छन् । “यति असजिलो भीरमा पनि सडक बन्छ भन्ने कुरा पत्यार थिएन तर सफल भयो । देशभर कोरोनाका कारण विकास निर्माण ठप्प हुँदा पनि हुम्लामा सडक पु¥याउन काम रोकिएन,” मल्लको भनाइ छ । पाँच वर्षअघि कर्णाली करिडोरको जिम्मा नेपाली सेनाले पाएपछि काममा तीव्रता पाएको उनले उल्लेख गरे ।

सो सडकको हुम्ला खण्डमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलो मिटर क्षेत्रमा २०७३ चैत ९ गतेबाट सेनाले काम सुरु गरेको थियो । कोरोना सङ्क्रमण सुरु भएयता सेनाले सडक निर्माण कार्यलाई झनै तीव्रता दिएको थियो । रात दिन नभनी कोरोना कहरमै पनि काममा तीव्रता दिँदा सेनाले हुम्ला खण्डमा आफ्नो जिम्मा रहेको सडक निर्माण गर्न सफल भएको स्थानीयवासीको भनाइ छ ।

सडक निर्माण समयमै सम्पन्न गर्न कोरोना सङ्क्रमणकै बेला पनि भौतिक दूरी कायम गर्दै काममा सेना खटिएको परिणामस्वरूप सडक निर्माण सम्पन्न भएको अध्यक्ष मल्ल बताउन्छन् । नेपाली सेनाको सो सडक निर्माण दलका प्रमुख मिलन कार्की यो चट्टानी भीरमा सडक निर्माण देशकै सम्भवतः सबैभन्दा कठिन काम आफूलाई लागेको बताए ।

सेनाले हुम्ला खण्डको सडक निर्माणको दूरी छोटो भए पनि कडा चट्टानी भाग र असजिला ११ वटा भीर छिचोलेर पूरा गरेको उनको भनाइ छ । खुलालु, लैफु कवाडी हुँदै सलीसल्ला खण्ड कति जटिल हो भन्ने कुरा स्थानीयवासीलाई मात्र राम्रो जानकारी छ, उनले भने ।

ती भीर विस्फोट गर्न पछिल्लो समय कोरोना सङ्क्रमण भए पनि पाँच वर्ष अघिदेखि कामको थालनी भएको उनले बताए । यसका लागि आधा दर्जन मेसिन प्रयोग र दुई टन विस्फोटक पदार्थ सेनाले खर्च गरेर सडक निर्माण कार्य पूरा गरेको उनले जनाए ।

काम पहिलेबाटै सुरु भएपछि अप्ठ्यारा र असजिला भीरमा कोरोना सङ्क्रमण अवधिमै काम बढी भएको योजना प्रमुख कार्कीले जानकारी दिए । अप्ठ्यारा ठाउँमा भीरहरू भएका कारण सेनाले सडक निर्माण गर्न १६ घण्टासम्म कामदार र मेसिन खटाएर काम सम्पन्न गर्न सफल भएको उनले बताएको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्