काठमाडौं, १४ जेठ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथ सुनुवाई चलिरहेको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा आज गठित इजलासमा रहेकाहरुबारे चासो बढेको छ ।
इजलासमा रहेका न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठमध्ये दुईजना राणाका नजिकका छन् । केसी र श्रेष्ठ प्रधानन्यायाधीश राणाका नजिकका मानिन्छन् । त्यसैले वरिष्ठता मिचेर उनीहरुलाई इजलासमा तोकिएको छ ।
वरिष्ठताका आधारमा तोकिनेमा दिपककुमार कार्की मात्र छन् । त्यसपछिको वरियतामा रहेकी मीरा खड्का, हरिकृष्ण कार्की इजलासमा परेनन् ।
राणाले उनीहरुभन्दा कनिष्ठ न्यायाधीशहरुलाई समावेश गरे । बमकुमार श्रेष्ठ २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गर्नेमध्येका एक हुन् । बमकुमार श्रेष्ठ र कुमार रेग्मीको फैसलाले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गर्नुका साथै एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।
दिपककुमार कार्की भावी प्रधानन्यायधीशका रुपमा हेरिएका छन् । उनी सर्वोच्च अदालतमा प्रधानन्यायधीश राणापछिको वरियतामा छन् । कार्की काँग्रेस पृष्ठभूमिबाट आएका हुन् ।
आनन्दमोहन भट्टराईको पृष्ठभूमि पनि नेपाली काँग्रेसकै हो । बानेश्वरका रैथाने भट्टराई परिवारको नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान छ । मनमोहन भट्टराई, हरिबोल भट्टराई उनका परिवारका हुन् ।
तेजबहादुर केसी र बमकुमार श्रेष्ठ भने प्रधानन्यायाधीश राणासँग नजिक छन् । यसपटक राणाले इजलासमा आफूले चाहेको हुनेगरी गठन गरेको विश्लेषण भइरहेको छ । फैसला आउँदा राणा अल्पमतमा नपर्ने निश्चितप्रायः छ ।