काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टीभित्र अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच स्पष्टिकरण सोध्ने जुहारी फेरि चलेको छ । दुवै अध्यक्षले एकले अर्कालाई २४ घन्टे स्पष्टिकरण सोधेर कारबाही प्रक्रिया बढाएका छन् ।
आज यादवले ठाकुरलाई स्पष्टिकरणको पत्र काटेलगत्तै ठाकुरले पनि यादवलाई स्पष्टिकरणको पत्र काटेका छन् । दुवै अध्यक्षले एक अर्कामाथि पार्टीविरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् ।
स्पष्टिकरण सोधेर यादव र ठाकुरले एकले अर्कालाई पार्टीबाट निष्काशनको तयारी गरेका हुन् । चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशनको निर्णय आउने बुझिएको छ । यसअघि पनि दुवै अध्यक्षले एक अर्कामाथि स्पष्टिकरण सोधेका थिए ।
जसपाभित्र अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका छन् । अध्यक्ष उपेन्द्र यादव भने ओलीविरोधी गठबन्धनमा छन् । जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् ।