Logo

स्थानीयलाई खोलाको, सरकारलाई राजस्वको चिन्ता



काठमाडौं, जेठ २१ । तनहुँको कोत्रेखण्डमा सेतीनदीको विभिन्न सातवटा घाटबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खनन गर्न दिएर शुक्लागण्डकी नगरपालिकाले वर्षमा झन्डै ११ करोड रुपैयाँ आम्दानी गर्छ। यो खण्डमा नदीबाट जथाभावी ढुंगा, गिट्टी, बालुवा निकालेको भन्दै विरोध पनि भइरहन्छ। तर, बर्सेनि त्यही सामग्री निकालेर शुक्लागण्डकीले करोडौं रुपैयाँ कमाइरहेको छ।

नदीबाट जथाभावी सामग्री निकालेको भन्दै स्थानीयले व्यापक विरोध जनाइरहँदा उनीहरूको आवाज भने सुनुवाइ हुँदैन। नागरिक समाजको व्यापक विरोध भएपछि केही दिनका लागि मत्थर बनाउने प्रयास गर्दै खोला उत्खनन गर्ने सवारी र उपकरण जफत गरेर लगे पनि केही दिनपछि ती सबै उपकरण पुनः उत्खननमा फर्किन्छन्। नागरिकको समाजको आवाजलाई कतै महत्व दिइन्न। ‘हामीले त बोल्ने मात्र हो, हाम्रो बोलीले उत्खनन रोक्नमा खासै भूमिका निभाउनै सक्दैन।

किनकी हाम्रो आवाज सबैतिरबाट मत्थर पारिन्छ,’ शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल भन्छन्, ‘सबैतिर सेटिङमा काम हुन्छ। त्यो सेटिङ अघिल्तिर हाम्रो आवाज कमजोर बन्छ।’ नागरिक समाजले विरोध गरेर रोक्न खोज्ने, तर, स्थानीय तहले खोलाबाट सामग्री निकाल्न नछाड्ने गरेको उनले बताए। ‘हामीलाई खोलाको चिन्ता छ तर, सरकारलाई राजस्वको चिन्ता,’ उनले भने।

बेलाबेला विरोध भएपछि जिल्लाका सुरक्षाकर्मी र प्रशासनका प्रमुख अनुगमनमा आए पनि भोलिपल्टैदेखि पुनः नदीजन्य पदार्थ निकाल्न थालिने उनले बताए। ‘यतिसम्मको सेटिङ हुन्छ कि प्रशासनको अनुगमन आउने बेला सबैतिर सुनसान हुन्छ, तर, भोलिपल्टदेखि पुनः निकाल्न थालिन्छ,’ खनालले भने। खनालका अनुसार सेती उत्खनन गर्दा पृथ्वी राजमार्ग पनि जोखिममा पर्छ। राजमार्ग नै जोखिममा पर्ने भन्दै आवाज उठाउँदा पनि वास्ता नगर्ने उनले सुनाए। त्यसबाहेक सिंचाइका मुहान सुकेका छन्। जलचरलाई पनि जोखिममा पारेको छ। नदीको प्रदूषण पनि उत्तिकै बढाएको छ। खानेपानीको स्रोत नै सुक्ने जोखिम बढाएको उनले बताए।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ९आइई० तयार पारेको भन्दै उत्खनन भइरहेको उनले बताए। उनका अनुसार सेटिङ यतिसम्म मिलाइन्छ कि खोलानाला दोहन गर्न नदिँदा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० समेत फेरिने भएकोले जो कोहीको पहुँच पुग्दैन। ‘डन परिचालन हुन्छन्। हामीलाई त कतै टेरपुच्छर लगाइन्न। नागरिक उठे भने केहीदिन गाडी थुनेजस्तो गर्ने देखावटी मात्र गरिन्छ,’ खनालले भने।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीका अनुसार आइई गरेर नदीबाट सामग्री निकालिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्