लहान, जेठ २१ । लामो सयमदेखि मधेसमा खिलझैं गाडिएर बसेको मुद्दा हो राज्यमा बराबरको हिस्सेदारी। यसै मुद्दालाई स्थापित गराउन मधेसले डेढ दशकमा तीनवटा बलिदानीपूर्ण संघर्ष खेप्नुपरेको छ। आन्दोलनका नेतृत्वकर्ता नेता सत्ता केन्द्रित भइदिँदा मधेस अनिश्चित आन्दोलनको सुरुङमा फसेको छ। अहिले मधेसले आफ्नो बलिदानीपूर्ण आन्दोलनको अजेन्डालाई संविधानतः स्थापित गराउन चाहेको छ। मधेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकाउन वा हटाउनमा चासो देखाएको छैन। ओलीसँग मधेस अझै रुष्ट छ। तेस्रो मधेस आन्दोलनका क्रममा ओलीको कटु बोली मधेसले अझै बिर्सिसकेको छैन।
राजनीतिज्ञ खुसीलाल मण्डल भन्छन्, ‘मानवतासमेतलाई ताकमा राखेर मधेस र मधेसी जनतामाथि निरन्तर प्रहार गर्ने ओलीसँग मधेसी नेताहरूको निकटता देखेर ताजुब लाग्छ। ओलीकै जिद्दीपनाका कारण सप्तरीको मलेठमा पाँचजनाले अनाहकमा प्राण त्याग्नुपरेको घटना मधेसले बिर्सनै सक्दैन। तर केही मधेसी नेताले बिर्सेको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘दुईतिहाइको सरकार हुँदा त सम्झौता गरेर लत्याइदिनेले अल्पमतमा परेको बेला मधेसको मुद्दा सम्बोधन गर्न सक्छ ?
ओलीले मधेसीलाई राज्यमा बराबरको हिस्सेदार बनाउने संवैधानिक ग्यारेन्टी गरिदिन सक्छन् रु’ अहिले उनले आफ्नो नेतृत्वको सरकार जोगाउन मधेसी नेताहरूलाई सत्ताको जालमा फसाउन खोजेको राजनीतिज्ञ मण्डलको बुझाइ छ। ‘ओलीले मधेस आन्दोलनका कुनै पनि मुद्दा सम्बोधन गर्न सक्दैनन्। मधेसको मुद्दा संविधान संशोधनबिना सम्भवै छैन,’ उनी भन्छन्, ‘सार्वभौम संसद्लाई पटकपटक विघटन गर्नेले संसद्बाट संविधान संशोधन गराउन सक्छन् रु’ मधेसको माग पूरा गर्ने मन भएको भए उनकै नेतृत्वमा दुईतिहाइको सरकार भएको बेला गर्न सक्थे तर गरेनन्।’
मधेस आन्दोलनको अगुवाइ गर्नेमध्येका एक नेता महन्थ ठाकुरमा पनि विचलन आएको राजनीतिज्ञ मण्डल बताउँछन्। ‘हमे सरकार नही अधिकार चाहिए भन्ने महन्थजी ओली सरकारको टेको बनेको देख्दा अत्यास लाग्छ,’ मण्डल भन्छन्, ‘उहाँमा आएको यो राजनीतिक विचलनले मलाई हैरान बनाएको छ। उहाँ सुझबुझ भएका, राजनीतिमा माझिएका व्यक्तित्व हुनुहुन्छ। उहाँबाट यस किसिमको चुक हुन्छ भन्नेमा मलाई विश्वासै थिएन।’ केही मुद्दा फिर्ता लिन लगाएर सत्तामा हिस्सेदारी खोज्ने कार्य मधेस र मधेसीका लागि हितकर नभएको मण्डलको भनाइ छ। ‘मधेसको मुद्दा दुईचारजना नेताकार्यकर्तामाथि लागेको मुद्दा फिर्ता मात्र हो’, उनले प्रश्न गरे।
राजनीतिमा सबैथोक सत्ताकेन्द्रित हुन नहुने तर्क राजनीतिज्ञ मण्डलको छ। घोर मधेसविरोधी, घोर संघीयताविरोधीको पदवी पाएका ओलीको टेको भएर उभिनेहरूसँग मधेसले आउने दिनमा अवश्य हिसाब माग्ने आकलन उनको छ। ‘गजेन्द्रनारायण सिंहको पनि भारतसँग प्रगाढ दोस्ती थियो। तर आफ्नो राजनीतिक अडानलाई तिलाञ्जलि दिएर उनले कहिल्यै समर्पण गरेनन्,’ मण्डल भन्छन्, ‘ओलीको कदमलाई नाजायज भन्नेहरू अहिले उनकै सत्ताको सारथि बन्न पुग्नु विडम्बना हो।’
मधेसको मुद्दा ओली सरकार बचाउने कि हटाउने हुँदै नभएको तर यसै विषयलाई लिएर जनता समाजवादी पार्टी ९जसपा० चिरा पर्नु दुर्भाग्यपूर्ण रहेको उनले बताए। ‘संसद् पुनस्र्थापनापछि ओली नेतृत्वको सरकारको भविष्य के हुने ठेगान छैन,’ मण्डल भन्छन्, ‘जसको सत्तायात्रा कहाँसम्म पुगेर कति बेला टुंगिने ठेगान छैन, ऊसँग सहयात्रा गर्नु भूल हुनेछ।’ संसद् नै नभएको बेला मधेसको मूल मुद्दा संविधान संशोधनमार्फत सुनिश्चित गराउन सम्भव छैन। नागरिक दैनिकबाट