काठमाडौं, असार २। पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।मंगलबार राति सम्पन्न खेलमा समूह चरणको पहिलो खेलमा साविक विजेता पार्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।
पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।
घरेलु टिम हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेट भित्र तीन गोल व्यहोर्यो । खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।
८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २–० को बनाए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० को जित दिलाए । हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।