Logo

निषेधाज्ञाले दियो जनतालाई महङ्गी उपहार



काठमाडौं, ८ असार । सरकारले कोरोना भाइरसको महामारीसँग लड्न १६ वैशाखबाट निषेधाज्ञा जारी गर्यो । काठमाडौं उपत्यकालगायत प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरी हिडडुलमा समेत कडाई गर्यो ।

खाद्यान्नलगायत अत्यावश्यक वस्तुको पसल समेत खोल्न कडाई गर्यो । सरकारले रोगसँग जुध्न कडाई त गर्यो तर उत्पादनकर्ता देखि विक्रीकर्तासम्मले हरेक सामानको मूल्य वृद्धि गरे ।

अहिले बजारमा गाँस, बास, कपाससँग सम्बन्धित वस्तुका अलावा औषधीको समेत मूल्य आकाशिएको छ । लकडाउनले जनतालाई महङ्गी उपहार दिएको छ ।

औषधीहरुको अभाव सृजना गरिएको छ । सिटामोलको समेत अभाव बढेको छ । विगतमा १० रुपैयाँमा पाइने सिटामोल अब २० रुपैयाँमा विक्री गर्न थालिएको छ । मधुमेह र प्रेसरका विरामीले प्रयोग गर्ने औषधीको पनि मूल्य वृद्धि गरिएको छ । इनसुलिन प्रति गोटा एक सय रुपैयाँ भन्दा बढीले वृद्धि भएको छ ।

गेडागुडी, चामल, तरकारी, तेललगायत अत्यावश्यक सामाग्रीको मूल्य वृद्धि भएको छ । लकडाउन अवधिभर तोरीको तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँभन्दा बढी महङ्गिएको छ । दालको मूल्य पनि आकाशिएको छ ।

अन्डा र मासुको समेत मूल्य वृद्धि भएको छ । बजारमा कृत्तिम अभाव सृजना गरी मूल्यवृद्धि गरिएको हो ।

कपडा, जुत्ताको मूल्य पनि वृद्धि भएको छ । यी सामाग्रीहरुको कृत्तिम अभाव गराइएको छ ।

निर्माण सामाग्रीको मूल्य व्यापक वृद्धि भएको छ । सिमेन्ट, छड, बालुवा, रोडा ढुङ्गाको मूल्य पनि वृद्धि भएको छ । सिमेन्ट प्रतिबोरा ५० रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । रडको मूल्य पनि प्रतिकेजी २० रुपैयाँभन्दा बढी वृद्धि भएको छ ।

गोलभेडा एक सय रुपैयाँ प्रतिकेजी पुगेको छ । आलु पनि प्रतिकेजी ५० रुपैयाँ पुगेको छ । उपभोक्ताको भान्छा महङ्गिएको छ ।



प्रतिक्रिया दिनुहोस्