Logo

माधव नेपालको टिप्पणी : मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं



काठमाडौं, ८ असार । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी शर्मा ओलीले संसद् सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दा सिंगो देशसहित पार्टी र जनताले भोग्नुपरेको बताएका छन् । सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने आदेश जारी गरेपछि नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो लेखेका छन् । उनले भनेका छन्-“संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो ।तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले) लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्। सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !!”



प्रतिक्रिया दिनुहोस्