काठमाडौं, असार ९ । निषेधाज्ञा शुरू भएको ५४ दिनपछि मंगलवारदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएसँगै बजारमा मानिसको चहलपहल बढेको देखिएको छ । सरकारले निजी सवारीसाधन जोरबिजोर प्रणालीमा र पसल व्यवसाय वारको आधारमा सञ्चालन गर्न दिनेगरी निषेधाज्ञा खुकुलो पारिएपछि बजारमा मानिसको चहलपहल बढेको हो । काठमाडौंका मुख्य व्यापारिक केन्द न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत स्थानमा मंगलवार बिहानैदेखि चहलपहल बढेको देखिएको छ ।
बजारमा मानिसको चहलपहल बढे अनुसार व्यापार भने नभएको व्यापारीहरूको भनाइ छ । मंगलवार विद्युतीय सामग्री, भाँडाकुडा, अटोमोबाइल लगायतका पसल खुलेका थिए । तर सामान किन्न उपभोक्ता निकै कम आएको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । पहिलो दिन भएकाले र लामो निषेधाज्ञाका कारण आम्दानी पनि घटेकाले पसलमा सामान किन्ने उपभोक्ता कम भएको हुन सक्ने उनको बुझाइ छ ।
उपभोक्ता र व्यवसायी दुवैमा महामारीको त्रास कायमै रहेकाले भौतिक दूरी कायम गरिनुका साथै मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सावधानीका उपाय पालना गरी पसल खुलेका छन् ।
उपभोक्ताको उपस्थिति निकै कम रहे पनि करीब २ महीनासम्म व्यापार व्यवसाय बन्द गरेर घरभित्रै बस्न बाध्य व्यवसायीले केही राहत महसूस गरेका छन् । शुरूका दिनहरूमा व्यापार हुन नसके पनि विस्तारै व्यापार बढ्ने र बजारले आफ्नो लय समात्ने आशा उनीहरूको छ । आर्थिक अभियान दैनिकबाट