विश्वम्भर प्याकुरेल : लकडाउनको सदुपयोग गर्दै अध्ययन कोठा सरसफाइको सिलसिलामा मेरो दृष्टि पुरानो एलबममा पर्यो । त्यहाँ भेटिए, नारायणगोपालसँगका दुइटा ऐतिहासिक तस्वीर ।
धेरै वर्षअघि अन्तर्वार्ता लिन आएका कान्तिपुर दैनिकका पत्रकार भाइले मसँग भएका धेरैजसो तस्वीर फिर्ता गरेनन् । मलाई लागेको थियो, मसँग नारायणगोपालको अब सम्झना मात्र छ तर अहिले जे फेला पर्यो, त्यो मेरो सौभाग्य थियो । मेरी श्रीमती ज्योतिको जाँगर नभएको भए सायद यो हात पर्ने थिएन ।
मैले ऐतिहासिक तस्वीर भन्नुमा म नारायण गोपालसँग भएकाले हैन । सांस्कृतिक संस्थानबाट निवृत्त भएपछि उनी अक्सर घरमै हुन्थे । पेमला भाउजू दिनभर अफिस जाने हुनाले कि त म कि उनी, हामी दुईमध्ये जसलाई फुर्सद मिल्थ्यो, एकअर्काको घर जान्थ्यौं ।
मलाई धेरै दिनदेखि मनमा घोचिरहेको थियो, दिनभरि इतिहासका पुस्तकहरु मात्र पल्टाएर घरमै बसिराख्यो भने उनको रक्सीको मात्रा अझ बढ्छ । के गर्ने त ? यो प्रश्नले मलाई कहिल्यै छाडेन । त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) मा स्नातक डिग्री हासिल गरेका डोरबहादुर विष्ट कार्यकारी प्रमुख र खासै कुनै डिग्री नभएका तर राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त अद्ध्येता धनवज्र बज्राचार्य दुवै प्राध्यापक हुनुहुन्थ्यो र दुवै राष्ट्रका निधि हुनुहुन्थ्यो ।
सोचें- यो देशमा अर्को नारायणगोपाल अब कहिले जन्मिने हो, यत्रो महान् हस्तीका लागि पनि त्रिविमा एउटा उचित ठाउँ किन नखोज्ने ? लामो सांगीतिक यात्रामा उहाँले आर्जन गर्नुभएको ज्ञान संस्थागत हिसाबले बाँड्न सकियो भने सांगीतिक इतिहासमा नारायणगोपालको योगदान पनि एउटा कोसेढुङ्गा हुनेछ ।
मैले सोचें- म पहिले त्रिविका पदाधिकारीसँग कुरा गर्छु अनि ‘हरियो संकेत’ पाएपछि मात्रै नारायणसँग कुरा गर्छु । मैले उपकुलपति महेशकुमार उपाध्याय, रजिष्ट्रार, प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिना र अफिसर-अन-स्पेसल ड्युटी प्रा विष्णुप्रसाद शर्मा ‘कोपिल’ सँग कुरा गरें । केही दिन, दुई-चार पटक छलफल गरेपछि उहाँहरुले यसलाई स्वीकार मात्र गर्नु भएन, मेरो प्रस्तावलाई प्रशंसा समेत गर्नुभयो । त्यो मेरा लागि एकदम सुखद क्षण थियो ।
नारायणगोपाल अप्ठेरो मान्छे त हो तर मसँगको सामीप्यका कारण मलाई विश्वास थियो, यो प्रस्ताव मैले उनीसामू राखें भने यसमा कुनै अड्चन आउने छैन । तर पनि कताकता शंका नभएको त हैन । त्यसैले उनलाई जरूरी काम छ भनेर पदाधिकारीहरुसँग कुरा भएको भोलिपल्ट म बस्ने प्राध्यापक आवास गृह कीर्तिपुरमा बोलाएँ । भनेकै समयमा उनी आइपुगे । मैले प्रस्ताव राखें । अनुहारमा खासै परिवर्तन त देखिनँ । तर केहीबेरपछि उनले अकस्मात् नियुक्तिपछि के-के गर्न सकिन्छ होला भनेर मसँग धेरै कुरा गरे ।
सल्लाह अनुसार हामीले नै प्रस्ताव गरेका कार्यक्रमका आधारमा टर्म्स अफ रेफरेन्स पनि बन्यो र नारायणले नियुक्ति पत्र पनि पाए । उनकै इच्छा अनुसार दरबन्दी ललितकला क्याम्पसमा भयो । केही दिन क्याम्पसमा आउने-जाने गरेपछि हामी तीन जना– म, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नरेन्द्रबहादुर महर्जन र नारायण मुलुकका आठ-दस वटा जिल्लाहरुको भ्रमणमा निस्कने भयौं । नरेन्द्रजी र मलाई त्रिविले विभिन्न क्याम्पसमा आफ्नै किसिमको जिम्मेवारी दिएको थियो भने नारायणगोपाललाई आफ्नो कार्यक्षेत्र अनुसार मुलुकका विभिन्न स्थानमा उपलब्ध हुन सक्ने र लोप हुँदै गएका राष्ट्रको विविध सांस्कृतिक र सामाजिक परम्परा झुल्किने गीत र संगीतको जानकारी जुटाउनु थियो । हामी तीन जना सँगै बसेको तस्वीर त्यही यात्राको बेला बाटोमा जंगलको बीचमा थकाई मार्दाको हो । ###
नारायणगोपाल ललितकला क्याम्पसका आफू नगीचका केही कलाकार साथीहरुसँग चेस खेल्दा जति रमाउँथे, त्यति नै कीर्तिपुरमा मेरो प्राध्यापक आवास गृहमा वर्षको दुई-चार पटक तास खेल्न मन पराउँथे । उनको स्वास्थ्योपचारमा सबैतिरबाट सक्दो प्रयास गरिसकिएको थियो । हामीले अब उपचार हुन सक्ने खासै आश गरेका थिएनौं । उनले हिंडडुल गर्न प्रायः छाडिसकेका थिए । साँझ अकस्मात् फोन गरेर ‘लिन आउनुपर्यो, केही साथी पनि खोजी राख्नू, आज तास खेल्ने मुड छ’ भने । त्यो बेला आकस्मिक हिसाबले जो-जो भेटिए, तिनलाई खबर गरें र नारायणगोपाललाई लिन गएँ । यो तस्वीर कसले कति बेला खिच्यो, सम्झना छैन ।
हुन त हामी आठ-दस जना थियौं । तर देखिएका व्यक्तिमध्ये म लगायत प्राध्यापक देवेन्द्र छेत्री, पृथ्वीराज लिगल, नारायणगोपाल र महेशकुमार उपाध्याय हुनुहुन्थ्यो । यो तस्वीर चर्चा गर्नु पर्नाको उद्देश्य एउटै छ किनभने त्यो ऐतिहासिक घटना थियो । सम्भवतः नारायणगोपाल मृत्यु शय्यामा ढल्नु पन्ध्र-बीस दिनअघिको मात्र थियो । तस्वीर खिचिसकेपछि उनले भनेको शब्द मलाई अझै याद छ, ‘मैले बुझेको छु, किन अकस्मात् तिमीहरुले अहिले यो तस्वीर खिच्यौ ?’