काठमाडौं, असार ११ । असार १० भित्रै बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्ष (आव) २०७८र७९ का लागि बजेट सार्वजनिक गरेका छन् । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्ने गरी बिहीवार स्थानीय तहहरूले ल्याएको बजेटमा स्वास्थ्य, पूर्वाधार, कृषि–पर्यटनलाई प्राथमिकतामा राखेको पाइएको छ । स्थानीय तहले ल्याएको बजेट कार्यक्रममा मौलिक नारासमेत दिएका छन् । ७५३ स्थानीय तहमध्ये ५ महानगरपालिकाको बजेटको आकार ३७ अर्बभन्दा बढीको छ ।
मुलुककै जेठो अनि ठूलो महानगरपालिका रूपमा लिइने काठमाडौं महानगरपालिकाले स्थानीय तहहरूमध्येकै सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाले आगामी आवका लागि १८ अर्ब २५ करोड ७७ लाख १२ हजारको बजेट ल्याएको छ । महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकमको बजेट प्रस्तुत गरेकी हुन् । काठमाडौं महानगरपालिकाले महामारीलाई ध्यान राख्दै आगामी आर्थिक वर्षको करमा विभिन्न छूट सहुलियत घोषणा गरेको छ । महानगरले ल्याएको बजेटमा कोभिड प्रभावित क्षेत्रलाई बम्पर कर छूटको योजना राखिएको छ ।
बजेटमा कोभिड–१९ को प्रभावले होटेल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७८र७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छूट दिइएको छ भने सबै करदाताहरूका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छूट हुने उल्लेख छ ।
त्यस्तै, घरधनीले बुझाउने वार्षिक बहाल कर रकमको १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन रकम कम हुन्छ उक्त रकम छूट हुने बजेटले नीति लिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्र मानिसहरूको बढी भीडभाड हुने र सार्वजनिक शौचालयको अभाव रहेको स्थानका होटेल, रेस्टुराँ पसलजस्ता व्यवसायहरूले आफ्नो प्रयोजनका लागि बनाएका शौचालय सर्वसाधारणका लागि समेत निःशुल्क सेवा दिन सहमत भई महानगरपालिकासँग सहकार्य गरे त्यस्ता व्यवसायमा लाग्ने व्यवसाय करमा थप ५० प्रतिशत छूट दिने बजेटमार्फत व्यवस्था गरेको छ । आर्थिक अभियान दैनिकबाट